आइसिसी विश्वकप लिग–२ को ‘अवे’ सिरिज खेल्दै नेपाल

काठमाडौं, ३१ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सोमबारदेखि आफ्नो दोस्रो सिरिज तथा पहिलो अवे सिरिज खेल्दैछ।

आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गर्न लागेको हो। ओन्टेरियाको किंग सिटीमा नेपाली समयअनुसार राति ७ः४५ बजे र स्थानीय सयमअनुसार विहान १० बजे नेपालले घरेलु टोलीसँग खेल्नेछ।

यो सिरिजमा नेपाल र क्यानडासँगै ओमान पनि सहभागी छ। ओमान र नेपालले यसअघि एउटा सिरिज मात्र खेलेका छन्। जसमा नेपाल र ओमानले दुवै टोलीले चारमध्ये एक खेलमा मात्र जित निकाल्न सकेका छन्।

क्यानडाले भने सुरूवाती दुई सिरिज खेलिसकेको छ। जसमा क्यानडाले नेदरल्यान्ड्स र अमेरिकासँगको पछिल्लो सिरिजका एक खेलमा मात्र जित निकालेको थियो। तर पहिलो सिरिजमा भने उसले चारै खेलमा जित निकालेको थियो।

पछिल्ला चार खेलको विश्लेषण गर्दा नेपाल, क्यानडा र ओमान चारै टोलीको नजिता राम्रो छैन।

यता नेपालले क्यानडाविरूद्ध खेलेको पछिल्ला तीन एकदिवसीय खेलमा जित निकालेको छ। गत फागुनमा घरेलु मैदानमा नेपालले क्यानडाविरुद्ध तीन एकदिवसीय खेलमा जित निकालेको थियो। यसर्थ नेपालका लागि क्यानडाविरूद्ध लगातार चार खेलमा जित निकाल्ने मौका छ।

पछिल्लो समय नेपालका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा खेलेका थिए। अझ रोहित र दीपेन्द्र विगत डेढ महिनादेखि क्यानडामै छन्। सन्दीप भने बीचमा नेपाल आएर क्यानडा गएका हुन्।

सिरिजमा अवे सिरिजबाट अंक बटुल्न महत्वपूर्ण भएकाले क्यानडामा हुने सिरिज नेपालका अवसर हुनेछ। पछिल्लो समय फर्ममा नरहेका प्रतिद्वन्द्वीविरूद्ध राम्रो खेल देखाउन सके नेपाललाई लिग(२ को अंक तालिकमा फड्को मार्ने समेत अवसर छ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

विश्वकप लिग–२ को एकदिवसीय सिरिज तालिक

नेपाल भर्सेस क्यानडा– भदौ ३१– नेपाली समयअनुसार बेलुका ७ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस ओमान– सोज २ गतेः नेपाली समयअनुसार बेलुका ७ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस क्यानडा– असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस ओमान (असोज ८ गते ) नेपाली समयअनुसार बेलुका ७ः४५ बजे (ओन्टेरियो)

टी–२० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते( नेपाली समयअनुसार बेलुका ९ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस ओमान– असोज १३ गते (नेपाली समयअनुसार बेलुका ९ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस क्यानडा– असोज १५ गते – नेपाली समयअनुसार बेलुका ९ः४५ बजे (ओन्टेरियो)

नेपाल भर्सेस ओमान– असोज १६ गते (नेपाली समयअनुसार बेलुका ९ः४५ बजे (ओन्टेरियो)

टिम नेपाल
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)

दुई वर्षमा आठ टोलीबीच २४ सिरिज

आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२६ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछन्। यी सिरिजको प्रतियोगितालाई आइसिसीले आइसिसी विश्वकप लिग–२ को नाम दिएको छ। लिग–२ आइसिसी एकदिवसीय विश्वकप २०२४ को छनोटको आधार समेत हो।

आइसिसी एकदिवसीय छनोट प्रतियोगिताको आधारको रुपमा रहेको लिग–२ मा तीन वर्षमा आठ टिमले नौं–नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ। लिग–२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।

आइसिसीको तालिका अनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ। प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन्।

तीन वर्षमा नौ सिरिज मध्ये तीन सिरिज घरेलु मैदानम खेल्दा छ सिरिजका लागि दोस्रो देशको भ्रमण गर्नु पर्नेछ।

यो वर्ष नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेपछि अमेरिका र क्यानडा भ्रमण गर्न लागेको हो।

नेपालले २०२५ र २०२६ मा पनि तीन तीन सिरिज खेल्ने तालिका छ।

आठ टिम मध्ये नेपाल नामिबियामा जानेछैन। यस्तै लिग-२ का लागि क्यानडाको टिम नेपाल भ्रमणमा आउनेछैन।

आठ टिमले कुल १४४ एकदिवसीय खेल खेलेपछि शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट शीर्ष चारमा पर्ने टोलीले पनि एकदिवसीय मान्यत पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्