‘होस्टेल ३’, ले पारस र सिम्रनलाई लिएर निस्कियो छायांकनमा

काठमाडौं, ३० भदौे । सफल फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको ‘होस्टेल ३’को छायांकन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै भक्तपुरको बोडेबाट छायांकन थालिएको हो । मुहूर्त सटमा फिल्मका मुख्य अभिनेता पारस बम (कुल ब्वाय) र अभिनेत्री सिम्रन पन्तले छोटो संवाद बोलेका थिए । फिल्मलाई दुई चरणमा छायांकन गरिनेछ ।

पहिलो चरणको छायांकन २५ दिनसम्म बोडे क्षेत्रमा हुनेछ भने तिहारपछि अर्को चरणको छायांकन गरिने निर्देशक सशान कँडेलले जानकारी दिए । उनले ‘होस्टेल ३’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सशानसँग म्यूजिक भिडियो निर्देशनको भने अनुभव छ । उनी गायक पनि हुन् । उनले ‘होस्टेल’को अघिल्ला दुई श्रृंखलाभन्दा उत्कृष्ट बनाउने गरी स्क्रिप्टमा मिहिनेत गरिएको बताएका छन् ।

‘होस्टेल ३’मा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ आदिको पनि अभिनय रहनेछ । अभिनेता आर्यन सिग्देलले होस्टेलको वार्डेनको भूमिकामा देखिँदैछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका देखिँदैछन् । छायांकन नहुँदै आगामी फागुन १६ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।

यो फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको छ भने कथा निर्देशक कँडेलको हो । फिल्मको कार्यकारी निर्मातामा शङ्कर कोइराला तथा निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी छन् । सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सहनिर्माता तथा भेषराज गौतम लाइन प्रोड्युसरमा छन् । फिल्मका डिओपी अर्जुन तिवारी तथा सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्