असोज २४ (फूलपाती)देखि प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्ती’ को  (नीतिसँग रोमान्टिक जितु) सार्वजनिक

काठमाडौं, २७ भदौ । आगामी असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘कसम बत्तीको’ बोलको गीतलाई विवाहको परिवेशमा तयार पारिएको छ । जसमा फिल्मका मुख्य अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह दुलहा र दुलहीको भेषमा आकर्षक नृत्य गर्दै प्रस्तुत छन् ।

यो गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको युगल गायन, यादव लम्सालको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ । हिन्दू परम्पराअनुसार बिहेपछि केटाको घरमा केटी भित्रिने चलन छ । तर, ‘कसम बत्तीको’ गीतमा जुत्ता लुकाएको पैसा बेहुला पक्षलाई बेहुलीले दिएकी छन् भने बेहुला (जितु) डोलीमा चढेर बेहुलीको घर गएका छन् । यसले फिल्मको कथा रोचक हुनसक्ने देखाउँछ ।

बसन्त निरौलाको निर्देशनमा तयार भएको ‘ज्वाइँ साब’मा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, दीपक अधिकारी, विश्व मुखिया, रोशन नेपाल, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय रहेको छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ । जितु र नीतिको जोडीका कारण फिल्मप्रति दर्शकमा चासो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्