नेपाल शिक्षक महासंघको शिक्षामन्त्रीलाई २३ बुँदे ज्ञापनपत्र

काठमाडौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आज नेपाल शिक्षक महासंघले भेटी विद्यालय शिक्षालाई तीनै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने लगायत २३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
विद्यालय तहलाई तीनै तहको सरकारको कार्यसूचीमा राख्न माग राख्दै विद्यालय तहलाई स्थानीय तहको मात्र अधिकार सूचीमा राख्दा गुणस्तर, लगानी र शिक्षक व्यवस्थापनका सम्बन्धमा प्रभावकारी समन्वय नहुने जनाउँदै महासंघले सो ज्ञापनपत्र दिएको हो । संविधानतः विद्यालय तह स्थानीय तहको अधिकार सूचीमा छ ।
महासंघले शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनुपर्ने, स्थगित अस्थायी शिक्षकहरुको परीक्षा चाँडो तोकिनुपर्ने, द्वन्द्वकालमा विस्थापित शिक्षकहरुलाई पुनः बहाली गरिनुपर्ने माग पनि राखेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

उक्त अवसरमा मन्त्री पोखरेलले मागहरुबारे आफू गम्भीर रहेको र थप गृहकार्य गरी अस्थायी शिक्षकको परीक्षा लगायत विषयमा टुङ्गोमा पुगिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्