दयाहाङ, आँचल र अनुपलाई लिएर ‘दुःखी आत्मा’ बनाउने तयारीमा निर्देशक दीपेन्द्र लामा

काठमाडौं, १८ भदौ । । गत वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’पछि निर्देशक दीपेन्द्र लामा यतिबेला ‘दुःखी आत्मा’ शीर्षकमा फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले केही महिनाअघि शीर्ष भूमिकामा दयाहाङ राई र आँचल शर्मालाई अनुबन्ध गरिसकेका थिए । अब अभिनेता अनुपविक्रम शाही पनि भित्रिएका छन् । कथाले मागेको चरित्रमा सुहाएपछि अनुपलाई लिएको निर्देशक लामाले जानकारी दिए ।

दयाहाङ र अनुपविक्रमले यसअघि ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’मा सहकार्य गरेका थिए । यतिबेला उनीहरुले फिल्म ‘पिताम्बर’मा एकसाथ काम गरिरहेका छन् । यसमा आँचल पनि छिन् । ‘पिताम्बर’पछि तीनैजना ‘दुःखी आत्मा’को छायांकनमा जोडिनेछन् । यही भदौ २४ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा छायांकन गर्न लागिएको फिल्मलाई कमेडी कथामा निर्माण गरिने जनाइएको छ ।

निर्देशक लामा स्वयंको लेखनमा बन्न लागेको ‘दुःखी आत्मा’को निर्माता हिमाल कडरिया हुन् । पुस्कर गुरुङ, कविता आले, शिशिर बाङ्गदेल, बुद्धि तामाङ, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, इंगीहोपो कोइच सुनुवार, आरती आचार्य, यासेली योङहाङ लगायतको पनि अभिनय रहने यस फिल्ममा आलोक शुक्लाको छायांकन तथा सुशान्त गौतमको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्