लक्ष्मीपूजामा प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

काठमाडौं, १७ भदौ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूतले प्राथमिकता पाएका छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ ।

बुबाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको निर्माण युनिटले जनाएको छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धि समेटिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तानप्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो । यही आउँदो बुवाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै हामीले तमाम बुवाहरूलाई उहाँहरूको सङ्घर्षलाई समर्पित गर्दै हामीले यो सानो टिजर सार्वजकि गरेका हौँ,’ निर्माता विनोद पौडेलले भने ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्माका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्