सिरियामा लडाकुहरुले सहर छाड्न थाले

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित रस्तान शहरबाट परिवारसहित लडाकुहरु उत्तरी सिरियाका लागि निस्कन शुरु गरेका छन् ।

होम्स् र हामा शहरकोबीचमा रहेको रस्तानबाट सयौं लडाकुहरु निस्किरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुस समर्थित असाद सरकारसंगको सहमति पछि लडाकुहरुलाई उनीहरुको नियन्त्रण रहेको उत्तरी सिरियाको इद्लिव तर्फ सुरक्षित रुपमा जान मार्ग प्रदान गरिएको हो ।

रस्तान लडाकुहरुको नियन्त्रणमा रहेको रणनीतिक महत्वको क्षेत्र थियो । लडाकुहरुले ठूला हतियार बुझापछि उनीहरुलाई साना हतियार लिएर इदलिव तर्फ जान अनुमति दिइएको हो ।

रुसी सैन्य प्रहरीले लडाकुहरु लिएर गएको बस र स्थानीय सुन्नी मुश्लिमहरुलाई सुरक्षा दिइरहेको छ ।

सिरियामा विगत सात वर्ष यताको गृहयुद्ध पछि रुस र इरान सरकार समर्थित सिरियाली राष्ट्रपति बशार अल असादको सरकारले मध्य सिरियाको धेरै भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

गृहयुद्धका क्रममा ४ लाख भन्दा बढी मानिस मारिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्