नेपाल स्तब्ध पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि
काठमाडौं, १२ भदौ । साफ यू–२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४.१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू–२० को उपाधि जितेको हो।
बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे। डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुमेको थियो।
त्यसअघि राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो।
५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए।
७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्यो। रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा सातदोबाटोमा खेल हेर्न उपस्थित नेपाली दर्शक स्तब्ध बनेका थिए।
नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तामाङले गोल गरेका थिए।
१० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल गर्यो। उसका लागि अहमेद नोभाले डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिएका थिए।
सन् २०१५ र २०१७ को विजेता नेपालको तेस्रो उपाधि जित्ने अभियान भने सफल भएन। यसअघि तीन पटक उपविजेता भएको बंगलादेशले भने चौथो प्रयासमा उपाधि जितेको हो। बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो।
प्रतिक्रिया दिनुहोस्