असोज ३ मा प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को ‘खुसीका फूल बटुलेर’ गीत सार्वजनिक, नायक धीरज मगरको करिअरको पनि अग्नीपरीक्षा
काठमाडौं, १० भदौ । संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘खुस्मा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘खुसीका फूल बटुलेर’ले युट्युबमा राम्रो भ्यूज र प्रतिक्रिया बटुलिरहँदा आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘रुकुम मैकोट’ बोलको लोकलयको गीत सार्वजनिक गरिएको हो । गीतको बोलझैँ रुकुमको मैकोटमै यसको छायांकन भएको हो ।
सुरेन राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी परम्परागत मगर पहिरनमा नृत्य गर्दै देखिएका छन् । उनीहरुको प्रेमभाव गीतले बोल्छ । एसडी योगीको संगीत र सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा शान्तिश्री परियारलाई गायनमा एसडीले नै सघाएका छन् । अडियो पक्ष राम्रो रहेको गीत कोरियोग्राफीमा चुकेको देखिन्छ ।
गीत सार्वजनिक कार्यक्रममा धीरजले फिल्मको स्क्रिप्ट पढ्दा नै आफ्नो मन छोएको बताए । ‘एकदमै मनछुने कथा छ । वर्कसपमा स्क्रिप्ट पढ्दा पनि हामी रुन्थ्यौं । मलाई यो फिल्ममा काम गर्न स्क्रिप्टले आकर्षित गरेको हो,’ उनले भने । गाउँको चरित्रमा काम गर्न गाह्रो भएको पनि उनले अनुभव सुनाए । तर, आफ्नो बुबा–आमाको गाउँको कथामा काम गर्न पाएकोमा धीरजले खुसी व्यक्त गरे ।
उपासनाले पनि स्क्रिप्ट सुन्ने बेलामा आफू रोएको स्मरण गरिन् । ‘निर्देशकले स्क्रिप्ट सुनाउँदा नै म रोएकी थिएँ । सिनहरू त्यस्तै छ,’ उनी भन्छिन्, ‘मलाई इमोसनल सिनहरू गर्न एकदमै मनपर्छ । अभिनय मेरो लागि थेरापी जस्तो पनि हो ।’ उनले रुकुमको मैकोट क्षेत्रमा बोलिने लवज टिप्न त्यहाँका स्थानीयहरूलाई नै साथी बनाएकी रहेछिन् । त्यसले गर्दा केही सजिलो भएको उनी सुनाउँछिन् ।
अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, राज थापा काउचा, विजय सुब्बा, अस्तित्व भट्टचन, सारा राई आदिको पनि अभिनय छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्मको निर्मातामा वीरबहादुर लामा, चन्द्र भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् भने सह–निर्मातामा सुस्मिता बुढाथोकी छन् ।
प्रतिक्रिया दिनुहोस्