नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १० भदौ । नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा अध्यक्ष सिंहले आव २०७९/८० मा जीवन बीमा व्यवसाय सोचे अनुसार विस्तार हुन नसके पनि आव २०८०/८१ मा सुधारको बाटो तय गरेको बताइन् । आव २०७९/८० मा कम्पनीको सबै वित्तीय सूचाकांकहरू उत्साहप्रद रहेको उनको भनाइ छ ।

कम्पनीको कुल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भई १६ अर्ब ८० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा वर्षको सञ्चालनबाट ९ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको कम्पनीले जनाएको छ ।

कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५ अर्ब ४० करोड ४० लाख पुगेको कम्पनीको भनाइ छ ।

कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४९ अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको र आव २०७९।८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

साधारण सभाले आव २०७९।८० को मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको १० प्रतिशतले हुने ५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद लाभांस पारित गरेको छ ।

यस्तै चुक्ता पूँजीको ४ प्रतिशतले हुने २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ बरारबको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

चुक्ता पूँजीको ४ प्रतिशत बोनस वितरण पछि कम्पनीको कुल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्