दयाहाङ र जितुको ‘कार्साङ’ प्याकअप

काठमाडौं, ६ भदौ। अभिनेताद्वय दयाहाङ राई र जितु नेपालले ‘वडा नम्बर ६’पछि दोस्रोपटक सहकार्य गरेको फिल्म ‘कार्साङ’को छायांकन सकाएका छन् । छायांकन सुरु गरिएको २२औं दिनमा फिल्म ‘प्याकअप’ भएको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित बाह्रबिसे नगरपालिका तथा भोटेकोसी गाउँपालिका आसपासमा फिल्म खिचिएको हो । छायांकनमा दुईवटा क्यामेरा प्रयोग गरिएको थियो ।

यम शेर्पाको लेखन एवं निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र जितुसहित सिर्जना निङ्लेखु, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पा, बाल कलाकारहरु राशी लिम्बू र सोहन थापाको पनि अभिनय छ । गत हप्ता दयाहाङ र सिर्जनाको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरिएको थियो । ‘कार्साङ’ सिर्जनाको डेब्यु फिल्म हो ।

पुरुषोत्तम प्रधान निर्माता रहेको फिल्मलाई उनैले छायांकन गरेका हुन् । फिल्ममा गोविन्द बोहरा सह-निर्मातामा छन् भने कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् । आरआर फिल्मसले वितरण गर्न लागेको ‘कार्साङ’को प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारीमा निर्माण टिम छ । शेर्पा समुदायको कथामाथि आधारित भएर बनेको फिल्ममा दयाहाङ शेर्पा पात्रको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्