‘‘सतीदेवी’ अहिलेसम्मकै सबैभन्दा राम्रो फिल्म: निर्देशक सुवेदी

काठमाडौं, ४ भदौ । कला पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले पहिलो फिल्मदेखि नै फरक–फरक कथा भन्दै आइरहेका छन् । पहिलो फिल्म ‘एउटा साथी’ प्रेमकथामा र दोस्रो फिल्म ‘लालजोडी’ कमेडी कथामा बनाएका उनले यही भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको तेस्रो फिल्म ‘सतीदेवी’मा सामाजिक कथा उठाएका छन् । फिल्मले छोरीप्रति गरिने लैङ्गिक विभेदको कथा बोल्छ ।

लक्ष्मणलाई फिल्मले उठाएको कथा विश्वकै हो भन्ने लाग्छ । र, फिल्मले महिला सशक्तिकरणमा ठूलो भूमिका खेल्ने उनको विश्वास छ । ‘छोरीहरुमाथि गरिने विभेद नेपालको मात्र होइन, विश्वकै समस्या हो,’ निर्देशक सुवेदी भन्छन्, ‘धेरै छोरी हुँदा छोरा भए हुन्थ्यो भन्ने मानसिकता र बुबा–आमामा पनि देखिने एकखालको हीनताबोधलाई मैले एकदमै नजिकबाट नियालेर ‘सतीदेवी’ बनाएको हुँ ।’

फिल्मलाई ग्रामीण परिवेशमा बनाएको भए पनि जुनसुकै देशमा संवाद ‘म्यूट’ गरेर देखाउँदा पनि बुझिने लक्ष्मणको दाबी छ । उनी ‘सतीदेवी’लाई अहिलेसम्मकै राम्रो फिल्म मान्छन् । ‘म स्क्रिप्ट लेख्दा नै धेरैपटक रोएको थिएँ । म दाबी गरेर भन्न सक्छु, अहिलेसम्म रिलिज भएका नेपाली फिल्ममध्ये ‘सतीदेवी’ सबैभन्दा राम्रो बनेको छ । यो मैले फिल्म चलाउनका लागि भनेको होइन,’ उनले भने ।

लक्ष्मण आफूलाई ‘कन्टेन्ट’मा फिल्म बनाउने निर्देशक मान्छन् । र, उनी ‘कन्टेन्ट’ले मागेको कलाकार मात्र फिल्ममा लिन चाहन्छन् । कलाकारले मागेको ‘कन्टेन्ट’मा उनलाई फिल्मै बनाउनु छैन । न त उनी ‘स्टार’कै पछि दौडिएका छन् ।

‘सतीदेवी’मा पनि ‘स्टार’ छैनन् । बरु उनी फिल्मका कलाकारलाई ‘चन्द्रमा’को संज्ञा दिन्छन् । ‘स्टार’ भन्दा ‘चन्द्रमा’कै महत्त्व बढी हुन्छ भन्ने उनलाई लाग्छ ।

‘सतीदेवी’को रिलिज नजिकिँदै गर्दा निर्देशक सुवेदीलाई डर भने छैन । फिल्म राम्रो बनेकाले सफल हुनेमा उनी विश्वस्त देखिन्छन् । यो फिल्मलाई आफ्नो ‘ज्यानप्राण’ मानेका उनले सिक्वेल पनि बन्न सक्ने संकेत गरेका छन् । ‘दर्शकको राम्रो साथ मिल्यो भने दोस्रो श्रृंखला पनि सम्भव छ,’ उनले भनेका छन् । ‘सतीदेवी’ प्रदर्शनपछि लक्ष्मण ‘पार्वती’ शीर्षकमा फिल्म बनाउने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्