हलमा ‘बुलाकी’को प्रदर्शन

काठमाडौं, ३२ साउन । नेपालमा फिल्मलाई पुनः प्रदर्शन गर्ने एकखालको ट्रेन्ड देखिएको छ । ‘छक्का पञ्जा २’, ‘चपली हाइट ३’, ‘आचार्य’, ‘बिहे पास’ जस्ता फिल्म पुनः प्रदर्शन गरिएका छन् । तर, नेपालमा पुनः प्रदर्शन भएका फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सकेका देखिँदैन । यसैबीच, शुक्रबारबाट गत वर्षको बैशाखमा २ दिनमा नै निर्माताले हलबाट उतारेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ ।

गत वर्ष ‘जारी’सँगको भिडन्तका कारण फिल्मले उल्लेख्य शोज पाउन सकेको थिए । हल व्यवसायीले विभेद गरेको भन्दै निर्माताले रिलिजको २ दिनमै फिल्मलाई उतार्ने निर्णय गरेका थिए । अब बक्स अफिसमा ‘बुलाकी’को दोस्रो परीक्षा सुरु भएको छ । तर, यो फिल्मलाई बलिउडको ‘स्त्री २’ ठूलो चुनौती बन्न सक्छ । बिहीबार रिलिज भएको यो फिल्मले नेपालमा सानदार व्यापार गरेको छ ।

‘बुलाकी’ले कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको छ । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा वा श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम), बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको संघर्षपूर्ण जीवनलाई मियो बनाएर कथावाचन गरेको छ । गत वर्ष फिल्मको प्रदर्शन २ दिनको मात्र भए पनि दर्शकबाट प्रतिक्रिया सुखद् मिलेको थियो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ । टोपेन्द्र विष्ट निर्माता तथा शिवराज पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको डिओपी, राजबहादुर सानेको लेखन र चलचित्र चौतारीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्