नेप्से तीन वर्षयताकै उच्च, १५ दिनमा ५औं रेकर्ड ब्रेक, २९ अर्वभन्दा बढी कारोबार गरेर फेरि राख्यो रेकर्डमाथि रेकर्ड
काठमाडौं, ३१ साउन । नेप्से सूचक ४३।०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । सूचक करिब ३ वर्ष यताकै उच्च विन्दु नजिक आएको छ । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४ विन्दुमा बन्द भएको थियो । झन्डै ३० अर्ब (९ अर्ब ९५ करोडभन्दा बढीको) सेयर कारोबार भएको छ । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् । बैंकिङ समूहमा निकै रौनकता देखिएको छ । यस दिन बैंकहरुको भाउ बेस्सरी बढेको छ ।
कतिपय बैंकहरुको भाउ सकारात्मक सर्किट लाग्ने गरी बढेको छ । वाणिज्य बैंकहरु बढेपछि नेप्से सूचक पनि फराकिलो अंकले वृृद्धि भएको हो । यसपटक लार्ज क्यापका कम्पनीहरुले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । गएको बुलमा बैंकिङ समूह खासै चलेको थिएन । तर यसपालि भने सुरुदेखि नै बैंकिङ समूहमा पनि तेजी आइरहेको देखिन्छ ।
जानकारहरुका अनुसार लार्ज क्याप चल्नुलाई राम्रो मान्न सकिन्छ । आधारभूतरुपमा समेत दरिलो रहेका कम्पनीहरु पनि सँगसँगै बढ्दा बुल बजार थप बलियो हुने अनुमान गर्न सकिन्छ । बैंकहरु बढेपछि बिहीबार नेप्से सूचक इन्ट्रा डे मा सजिलै ३ हजारभन्दा माथि जान सकेको थियो ।
तर अन्तिम प्रहरमा भने बजारमा केही सेलिङ प्रेसर पनि देखियो । फलस्वरुपः ३०३६ अंकको तहमा पुगेको बजार पुनः घटेर ठ्याक्कै ३ हजारको मनोवैज्ञानिक तहमा आएर अडिएको छ ।
आम लगानीकर्ता उत्साहित हुँदा बजारले केही समययता समग्रमा राम्रोसँग गति लिएको छ । बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको छ । विदेशमा रहेका नेपालीले समेत सेयर कारोबारमा बढी चासो देखाउन थालेका ब्रोकरहरुको भनाई छ ।
बजारमा आएको सप्लाई।खपत गर्ने पर्याप्त क्रेता देखिएका छन् । दैनिक भइरहेको कारोबार रकमले सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ताको राम्रोसँग प्रवेश भएको अनुमान गर्न सकिन्छ । दैनिक औसतमा २० अर्बभन्दा पनि बढीको कारोबार भइरहनुले बजार बलियो रहेको बुझ्न सकिन्छ ।
संस्थागत लगानीकर्तहरुसँग धेरै खपत क्षमता हुने भएकाले बजारमा आएको आपूर्ति सजिलै खपत हुने गरेको हो । यद्यपि, बजारमा बेलाबेला प्रोफिट बुक पनि हुने गर्छ । यसरी नाफा बुक गर्दा बजारमा करेक्सन पनि आउने गर्छ । तर बुल बजारमा निश्चित करेक्सनपछि बजारले पुनः गति लिने अनुमान गर्न सकिन्छ ।
सेयर धितो कर्जाको क्याप खुला गरिएकाले संस्थागत लगानीकर्ताको राम्रोसँग प्रवेश हुन पाएको छ । यस्तै, सूचीकृत कम्पनीहरुले पनि औसतमा नाफा वृद्धि गरेका छन् । अब लाभांशको सिजन पनि सुरु हुँदैछ । अहिले सेयरधनी बन्नेले अब छोटो समयमै लाभांशको हकदार बन्न सक्नेछ । यसकारण पनि बजारमा सहभागीको थप चहलपहल बढेको हो ।
यतिबेला, लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । समग्र अर्थतन्त्रले अझै पनि अपेक्षाअनुसार गति लिइसकेको छैन । यसर्थ, पनि अहिले पुँजी बजारमा साना–ठूला सबैथरिका लगानीकर्ता आकर्षित भएको पाइन्छ । बढ्दो बजारमा तत्काल नाफा बुक गर्न सकिने भएकाले पनि आकर्षण चुलिएको हो ।
नीतिगत सुधारपछि बजारमा उत्साह देखिन थालेको हो । विशेषगरी, केन्द्रीय बैंकले सेयर बजारलाई सपोर्ट हुने गरी नीतिगत सुधार गरेपछि नयाँ माहोल आएको हो । यस्तै, बैंकिङ प्रणालीमा रहेको तरलता र घट्दो ब्याजदरले पनि बजार वृद्धिका लागि निकै सहयोग गरेको देखिन्छ ।
आम लगानीकर्ताले भने सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
यस दिन ३३४ कम्पनीको ६ करोड ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर परेका छन् । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्