फिल्ममा राजेश हमालको कमब्याक दीवाकरको निर्देशनबाट

काठमाडौं, २२ साउन । अभिनेता राजेश हमालले झन्डै ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक दीवाकर भट्टराईको अगामी फिल्म (नाम तय हुन बाँकी)बाट उनले कमब्याक गर्न लागेका हुन् । करिब एक महिना लामो छलफलपछि आइतबार निर्माण पक्ष र हमालबीच लिखित सम्झौता भएको हो । यसको जानकारी हमाल स्वयंले सामाजिक सञ्जालबाट गराएका छन् । फिल्म एक्सन प्रधान रहनेछ ।

हमालले पछिल्लोपटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘शकुन्तला’ थियो, जुन सन् २०१६ मा रिलिज भएको थियो । यसको असफलतापछि उनले अफर आएका दर्जनौं फिल्म अस्वीकार गरे । कमब्याकका लागि उनले ‘सत्यम्’ र ‘मायाको माया’ गरी दुई फिल्म सम्झौता गरेको भए पनि ती निर्माण भएनन् । अब दीवाकरको फिल्मबाट हमालको करिअरको दोस्रो ‘इनिङ्स’ सुरु हुँदैछ ।

फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने निर्देशक भट्टराईको दावी छ । उनी भन्छन्, ‘राजेश दाईसँग हामी लगभग एक महिनादेखि छलफलमा थियौं । दाईले धेरै हिसाबले सोचेर मात्र फिल्म गर्न तयार हुनुभएको हो । यसले उहाँको गर्विलो कमब्याक गराउनेछ ।’ आगामी भदौ महिनादेखि छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनभित्र घोषणा गरिने दीवाकरले बताए ।

खासमा अभिनेता हमाल यस वर्ष आफैं फिल्म निर्माण गर्ने तयारीमा थिए । त्यसका लागि उनी लामो समयदेखि स्क्रिप्टमा बसिरहेका थिए । तर, दीवाकरको फिल्मको स्क्रिप्ट र चरित्र मन परेपछि उनले आफ्नो फिल्मलाई अर्को वर्ष धकलेका छन् । उक्त फिल्मलाई उनी आफैंले निर्देशन गर्न लागेको पनि चर्चा छ । उनले लामो समयदेखि आफूले फिल्म बनाउन लागेको बताउँदै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्