अर्गानिक कथा ‘नम्बरी सुन’मा देखिदै नम्रता सापकोटा
काठमाडौं, २० साउन। अभिनेत्री नम्रता सापकोटाको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा उनले एक दर्जन फिल्म गरिसकेकी छन् । तर, सफलता भने सहायक भूमिकामा अभिनय गरेको फिल्म ‘छक्का पञ्जा’बाट मात्र मिल्यो । सोलो नायिका भएका उनका कुनै फिल्म सफल छैन । अब उनलाई ठूलो आशा भनेको यही साउन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’प्रति छ ।
यसमा उनले गाउँको खानदानी परिवारको मुखियाकी छोरीको भूमिका निभाएकी छन् । तर, आफ्नो चरित्र साधारण रहेको उनको भनाई छ । ‘ऊ एउटा राम्रो परिवारको मुखियाको छोरी भएर पनि साधारण छे । उसमा कुनै घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको युवकसँग बसेको हुन्छ,’ नम्रता भन्छिन् । प्रेम प्राप्तिका लागि लड्ने पात्रमा आफूले अभिनय गरेको उनी बताउँछिन् ।
‘मैले यसअघि सोझो, बदमास, चुलबुले चरित्र निर्वाह गरेँ । तर, ‘नम्बरी सुन’मा शुद्ध ‘इन्टेन्स लभ’ देखिन्छ,’ नम्रता आफ्नो चरित्रबारे अगाडि भन्छिन्, ‘मैले यो फिल्ममा धेरै बोल्नु परेको छैन । मेरो ‘एक्सप्रेसिभ क्यारेक्टर’ छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ ।’ उनी ‘नम्बरी सुन’बाट आशावादी देखिन्छिन् । कथा र चरित्र राम्रो लागेर काम गरेकाले दर्शकलाई पनि मन पर्ने उनको विश्वास छ ।
तर, उनलाई ‘नम्बरी सुन’ आफ्नो लागि भन्दा पनि कथाका लागि हेर्नुपर्छ भन्ने लाग्छ । ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन । यो कुरामा म विश्वास पनि गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेर्न चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ उपयुक्त हुनसक्छ । किनकि, फिल्म राम्रो बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा अर्गानिक कथा छ । दर्शकले ‘रिलेट’ गर्नुहुन्छ ।’
नम्रतालाई अब चरित्रको गहिराईमा गएर काम गर्ने इच्छा छ । त्यसका लागि ‘डार्क’ किसिमको फिल्म गर्न चाहन्छिन् उनी । नम्रता भन्छिन्, ‘मलाई ‘डार्क’ टाइपको फिल्म गर्ने इच्छा छ । सुटिङ गरेर घर जाँदा मलाई आफैंलाई पुगेकै हुँदैन । भोक लागेको बेलामा थोरै खानेकुरा पायो भने जस्तो खुसी भइन्छ त्यस्तै खालको सन्तुष्ट हुने चरित्र गर्ने इच्छा छ । जसमा ‘डेप्थ’मा बसेर काम गर्न पाउँ ।’
प्रतिक्रिया दिनुहोस्