महिला भलिबलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारे
काठमाडौं, २० साउन। महिला भलिबलमा नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको हो ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास बनाको छ । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।
प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।
‘जितपछि मेरो मनमा केही थिएन । केही सोच्न सकिएन । भारतसँग खेल्दैछौं है भन्ने डरबाट सुरुवात गरेको खेल आज जित्दा छुट्टै खालको इमोसन ९भावुकपन० हुन्छ’, जितपछि कप्तान अरुणा शाहीले भनिन् ।
अन्य ठूला टोलीलाई हराउन भन्दा भारतसँग जित महत्वपूर्ण हुने अरुणा बताउँछिन् । ‘भारतलाई हराउँदा सन्देश अर्कै हुन्छ । अरु राम्रो टोलीलाई हराउँदा त्यति फरक पर्दैन होला, भारतलाई हराउँदा नेपालीहरुमा पर्छ । हामीले रसियालाई जितेको भएपनि आजको जति भ्यालु हुने थिएन’, अरुणाले भनिन् ।
नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार घरेलु प्रतियोगितामा ब्यस्त महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रभावशाली प्रदर्शन गरेपनि भारतसँग स्तब्ध हुँदै आएको थियो ।
दक्षिण एसियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ । तर भारत नेपालको हरेक प्रतियोगितामा बाधक बनिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्