कलाकारको ‘लाइनअप’ बलियो बनाउँदै ‘के घर के डेरा २’ आर्यनको प्रवेशसँगै अभिनेत्रीमा स्वस्तिमाको पनि चर्चा

काठमाडौं, १५ साउन । ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । अभिनेताद्वय खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि फिल्ममा अब अर्का अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ । यसै साता आर्यनसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो । फिल्ममा उनी घरबेटीको भूमिकामा देखिन लागेको चर्चा छ ।

गत जेठमा आएको फिल्म ‘पूजार सार्की’ सुपरहिट भएपछि आर्यनको माग चर्किएको छ । उनले केही हप्ताअघि ‘छक्का पञ्जा ५’मा समेत अभिनय गरिसकेका छन् भने ‘के घर के डेरा २’पछि निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘गाउँ नै रमाइलो’मा काम गर्दैछन् । लगातार फिल्म असफल हुँदा उनको करिअर संकटग्रस्त बनेको थियो । ‘पूजार सार्की’ले आर्यनलाई निकै ठूलो राहत दिएको छ ।

‘के घर के डेरा २’मा दुईजना अभिनेत्री रहने जनाइएको छ । जसमध्ये एक अभिनेत्रीमा स्वस्तिमा खड्काको नाम चर्चामा छ । त्यसो त उनीसँग सम्झौता नै भैसकेको निकट स्रोतको दावी छ । यद्यपि, निर्माण टिमले यसको पुष्टि गरेको छैन । यही साउन २५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मलाई लेखक बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो ।

ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सामाजिक कथावस्तुलाई फिल्ममा रोचक तरिकाले प्रस्तुत गरिने निर्देशक खनालले बताए । यसै वर्ष फिल्मलाई हलमा रिलिज गरिँदैछ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो, जुन ‘सेमी हिट’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्