मौदिक नीतिको सकारात्मक प्रभाव, सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं, १३ साउन। मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ८.९ प्रतिशत बढेको छ । विकास बैंक ४, फाइनान्स २.३, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ३, लगानी ४.८, जीवन बीमा ४.१, उत्पादन ४.३, माइक्रोफाइनान्स २.८, अन्य ३.७ तथा व्यापार समूह ७.२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्