रास्वपामा नेताको जिम्मेवारी हेरफेर

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ । कुन–कुन नेताको जिम्मेवारी हेरफेर गर्ने भन्नेबारे चाहिँ नेताहरूले बताएका छैनन् ।

पार्टी कार्यालय वनस्थलीमा बिहीबार बस्ने बैठकमा नेताहरूको जिम्मेवारी हेरफेरबारे छलफल हुने नेताहरूको भनाइ छ । संगठनको आन्तरिक रणनीति, विधान कार्यदल,आगामी कार्यक्रम र कार्यदिशाका सम्बन्धमा छलफल हुने सह–प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘पहिलो कुरा त पार्टीको आन्तरिक रणनीतिबारे छलफल गर्नुपर्ने छ । किनभने बिचमा पार्टीमा आएको केही फेरबदलले केही नेताहरूको जिम्मेवारीसमेत फेरबदल गर्नुपर्ने छ,’ सहप्रवक्ता झाको भनाइ छ ।

केही समयअघि रास्वपाले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई कारबाही गरेको थियो । ढकालले नेतृत्वको चाहानाविपरीत सुझाव प्रतिवेदन तयार गरेपछि उनलाई रास्वपाले पदीय जिम्मेवारीबाट हटाएको थियो ।

ढकाललाई पार्टीले गरेको कारबाहीबारे पुनरावेदन गर्ने समय दिए पनि अब उनी पार्टीमा फर्कने सम्भावना नरहेको निचोडमा पार्टी पुगिसकेको छ । ‘पुनरावेदनको समय बाँकी नै भए पनि ढकालजी पार्टीमा फर्कने सम्भावना क्षीण देखिन्छ’, रास्वपाका एक नेताले भने, ‘त्यसैले त्यो पद कसलाई भन्नेमा आन्तरिक तयारीबारे छलफल हुन्छ ।’ तर सहप्रवक्ता झाले अहिले नै महामन्त्री तोक्ने सम्भावना नरहेको बताए ।

रास्वपाको विधानमा कुनै पनि नेतालाई गरेको पार्टीको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने व्यवस्था रहेको छ । तर अहिलेसम्म ढकालले पुनरावेदन नगरेको बुझिएको छ ।
‘जिम्मेवारी फेरबदल भन्ने बित्तिकै महामन्त्री नयाँ खोजेको होइन । मुकुलजीको पुनरावेदनको समय नसकिँदासम्म हामीले त्यसमा आधिकारिक रूपमा निर्णय गर्न मिल्दैन’, झाको भनाइ छ । ढकाललाई असार २५ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्य मात्र रहने गरी अन्य जिम्मेवारीबाट हटाएको थियो ।

रास्वपाको विधानमा कुनै पनि नेतालाई गरेको पार्टीको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने व्यवस्था रहेको छ । तर अहिलेसम्म ढकालले पुनरावेदन नगरेको बुझिएको छ ।

योबाहेक आज बस्ने रास्वपा बैठकमा पार्टीका तर्फबाट उपसभामुख बनेकी इन्दिरा रानामगरको विवादित पत्रबारे समेत छलफल हुने बताइएको छ । रानामगरले पाँच जना व्यक्तिहरूबारे अमेरिकी दूतावासलाई अन्तरवार्ताका लागि समय सार्न लेखेको विवादित पत्रपछि उनीमाथि के गर्ने भन्ने प्रश्न उठेको छ । बैठकमा उपसभामुखको पत्रबारे छलफल गर्ने औपचारिक एजेन्डा नभए पनि अनौपचारिक रूपमा छलफल हुने एक नेताको भनाइ छ ।

‘औपचारिक रूपमा त उपसभामुखको पत्रबारे छलफल गर्ने एजेन्डा छैन । तर बैठकमा अनौपचारिक रूपमा कुराकानी र छलफल नहुने कुरै भएन’, ती नेताले भने, ‘जसरी अमेरिका पठाउन पैसा लिएको भनेर समाचारहरू आएका छन्, त्यसबारे हामीले छानबिन गर्दा लिएको पुष्टि भएन ।’

रानामगरले झन्डै एक वर्षअघि चार पुरुषसहित एक महिलालाई अन्तर्वार्ताको मिति अघि सार्न आग्रह गर्दै अमेरिकी दूतावासमा पठाएको पत्र सार्वजनिक भएको थियो । त्यसपछि उपसभामुख रानाको कार्यशैलीबारे राजनीतिक क्षेत्रबाट चर्को आलोचना भए पनि रास्वपाले त्यसको बचाऊ गर्दै आएको छ ।

को को छन् त महामन्त्रीका आकाङ्क्षी ?
रास्वपा स्रोतका अनुसार मुकुल ढकालले पुनरावेदन नगर्ने अवस्था आएपछि महामन्त्रीका लागि हालका सहमाहामन्त्री मध्येका एक नेतालाई महामन्त्रीको जिम्मेवारी दिने तयारी छ । रास्वपामा तीन जना सहमहामन्त्री छन् । हाल कवीन्द्र बुर्लाकोटी,सुमना श्रेष्ठ र विपिन कुमार आचार्य सहमहामन्त्रीको जिम्मेवारीमा छन् । त्यसबाहेक सहकोषाध्यक्ष दीपकराज बोहरा र मनिष झा पनि महामन्त्रीका आकाङ्क्षी रहेको बुझिएको छ ।

यसअघि महामन्त्री र प्रवक्ता एकै व्यक्तिलाई तोकेको रास्वपाले अब भने दुई जिम्मेवारी फरक फरक व्यक्तिलाई दिनेबारे समेत पार्टीभित्र अनौपचारिक रूपमा कुरा उठेको एक नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्