मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को गीत सार्वजनिक

काठमाडौं, ७ साउन । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्य प्रस्तुत छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति दर्शाउँछ । रोमानियाको सुन्दर दृश्यहरुले गीत आकर्षक बनेको छ ।

अञ्जु पन्त र प्रताप दासको गायन रहेको गीतमा लेखु सहयात्रीको शब्द रचना छ भने अर्जुन पोखरेलको संगीत छ । गीतमा आँचल चार फरक पहिरनमा खुलेकी छन् । उनलाई बोल्ड देखिएको छ । विवेकसँग केमेस्ट्री पनि जमेको छ । तर, लोकेशन परिवर्तनमा जति मिहिनेत गरिएको छ, कोरियोग्राफीमा भने त्यो देखिँदैन । जसले गर्दा नृत्य कमजोर छ । यद्यपि, छायांकन पक्ष प्रशंसनीय छ ।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा आँचल र विवेकसहित विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेकले यही फिल्मबाट डेब्यु गरेका हुन् भने मोडल कुसुमको पनि यो डेब्यु हो ।

फिल्ममा जानुका थापा निर्माता र डा। अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन एवं प्रदीप भारद्वाजको लेखन छ । फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भन्ने जनाइएको छ । २ वर्षअघि रोमानियामा छायांकन गरेपछि यो फिल्म रोकिएको थियो । गत बैशाखमा काठमाडौंमा बाँकी छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्