जिग्री ब्रो’ ले जन्मदिनमा फिल्म ‘लाज शरणम्’ दर्शकलाई उपहार

काठमाडौं, ४ साउन । ‘जिग्री ब्रो’ नामले प्रसिद्ध कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’को औपचारिक घोषणा गरिएको छ । अग्रज हास्य कलाकार हरिवंश आचार्यलाई साक्षी राख्दै टिभी सिरियल ‘सक्किगो नि’ समूहले शुक्रबार कथानक फिल्म बनाउने जनाएको हो ।

कुमारकै पटकथा लेखन तथा निर्देशन रहने फिल्मको प्रदर्शन आगामी महाशिवरात्रिको दिन फागुन १४ गते गर्ने तयारी छ ।

सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, कमलमणि नेपाल ९खुपीका बाउ०, विजय बराल, माला लिम्बू र मुकुन्द श्रेष्ठको अभिनय हुनेछ । यो फिल्मबाट मुकुन्दले १२ वर्षपछि पुनरागमन गर्दैछन् ।

पत्रकार सम्मेलनमा आधाजति मात्र कलाकारको घोषणा गरियो । प्रशान्त ताम्राकार, रेणु योगी र महेश त्रिपाठी पनि फिल्ममा जोडिएको कुरा यसअघि नै आइसकेको छ । यी कलाकारबारे औपचारिक घोषणा हुन बाँकी छ । थप दुई(तीन जना कलाकार फाइनल हुन बाँकी रहेको जनाइएको छ ।

अभिनेता तथा निर्देशक कट्टेलले आफ्नो सिरियल र अभिनय यात्रामा साथ दिने सबैलाई धन्यवाद दिए । पछिल्लो समयका सिरियलले दर्शकलाई मनोरञ्जन दिने कुरामा भूमिका खेलेको उनले बताए ।

फिल्मको छायांकन भदौदेखि काठमाडौं र कर्णाली क्षेत्रमा गर्ने तयारी छ । फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा निर्माण हुने जनाइएको छ ।

फिल्मको घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई सम्मान प्रदान गरियो । नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्