‘घरज्वाइँ’ को २ दिने कलेक्सन डेढ करोड दावी

काठमाडौं, ३१ असार। सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जिएम मुभी प्रोडक्सनले आइतबार एक पोस्टरमार्फत् दुई दिन (शुक्रबार र शनिबार)मा १ करोड ५१ लाख ग्रस व्यापार भएको दाबी गरेको छ । यसमा काठमाडौं तथा उपत्यकाबाहिरको कति योगदान छ, त्यो भने खुलाइएको छैन ।

चलचित्र विकास बोर्डले बक्स अफिसको रिपोर्ट सार्वजनिक नगरेकाले ‘घरज्वाइँ’को कलेक्सन पुष्टि हुने आधार देखिँदैन । निर्माताले वितरकबाट प्राप्त आँकडा सार्वजनिक गरेका हुन् । यद्यपि, दुई दिन फिल्मको व्यापार राम्रो थियो । अझ शुक्रबारभन्दा शनिबारको व्यापारमा उल्लेख्य वृद्धि देखियो । आइतबार पनि देशभरका हलमा राम्रो अकुपन्सी रहेको वितरक रोहित कट्टेलले बताएका छन् ।

फिल्मप्रति आदिवासी जनजाति समुदायको आकर्षण बढी देखिएको छ । यो स्वभाविक पनि हो । किनकि, यही समुदायको कथामा फिल्म आधारित छ । र, कलाकारहरु पनि अधिकांश यही पृष्ठभूमिका छ । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर फिल्म बनेकाले यो समुदायले अपनत्व महसुस गरेको देखिन्छ । फिल्मका लागि यो सफलताको लक्षण हो ।

अनिल बुढा मगरको डेब्यु निर्देशनमा तयार भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, विना थापामगर, सोनाम लामा, सुनिल मगर लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्