स्पेन चौथोपटक युरोकपको उपाधि जित्न सफल

काठमाडौं, ३१ असार। स्पेन चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को रेकर्ड उपाधि उचालेको हो ।
स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित हात पारेको हो। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १र१ को बराबरीमा ल्याएका थिए ।

स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो ।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो । इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।

जारी युरोकपमा स्पेनले आफूले खेलका सबै सात खेलमा जित हात गर्‍यो । स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

यसैगरी, स्पेनले प्रि–क्वार्टरफाइनल खेलमा जर्जियालाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएको थियो । यसरी स्पेन युरोकपमा विजेता बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्