युरो कप २०२४ को फाइनल खेल आज राति हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं, ३० असार। अहिले युरो कप २०२४ चलिहेको छ । मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल कुले वाजीमार्ला भन्नेमा सबैलाई कौतुहल भएको छ । युरो कप २०२४ को फाइनल खेलआज राति हुँदैछ । फाइनल खेल मध्यराति १२ः४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुँदैछ ।

२४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ ।

उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् ।

स्पेनले यस युरो कपमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो ।

 

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ ।

स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ र चौथो पटक जित्ने लक्ष्यमा छ । यदि स्पेन विजयी भएमा युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ र सर्वाधिक सफल टोली बन्नेछ ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो । युरो लगातार जित्दा स्पेनले सन् २०१० मा फिफा विश्वकप समेत जितेको थियो ।

इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदान वेम्बलीमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ । त्यसका लागि इंग्ल्याण्डले घर बाहिर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई हराउनुपर्नेछ ।

इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो र त्यो पनि घरेलु मैदानमा जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा केही खेलाडीमाथि नजर रहनेछ । जो व्यक्तिगत अवार्डको होडमा पनि छन् । इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् । फाइनलमा गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ताको दाबेदार बन्नेछ ।

यस्तै उत्कृष्ट खेलाडी बन्ने दौडमा स्पेनका रोड्रि र इंग्ल्याण्डका जुड बेलिङघम छन् ।

लामिन यामलमाथि नजर

 

तर फाइनलमा नजर भने एक दिनअघि मात्रै १७औं जन्मदिन मनाएका लामिन यामलमाथि हुनेछ । यी टिनएज स्टारले युरोमा गज्जबको प्रदर्शन गर्दै सबैलाई छायामा मात्र पारेनन् स्पेनलाई फाइनल पुर्‍याउन पनि उत्कृष्ट योगदान गरिरहेका छन् । सेमिफाइनलमा फ्रान्स विरुद्ध एक गोलले पछि पर्दा उनै यामलले सानदार गोल गर्दै खेल बराबरी गरेका थिए ।

उनले युरोमा विभिन्न कीर्तिमान समेत बनाइसकेका छन् । युरो खेल्ने युरोमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका यामल अब अरु कीर्तिमानको बाटोमा छन् । उनले फाइनलमा गोल गरेमा युरो फाइनलमा गोल गर्ने कान्छो खेलाडी पनि बन्नेछन् ।

यी हुन् अहिलेसम्मको १६ संस्करणका युरो विजेता

१९६० स्सोभियत संघ

१९६४  स्पेन

१९६८ इटली

१९७२  पश्चिम जर्मनी

१९७६ चेकोस्लोभाकिया

१९८० पश्चिम जर्मनी

१९८४ फ्रान्स

१९८८ नेदरल्याण्ड्स

१९९२ डेनमार्क

१९९६  जर्मनी

२०००  फ्रान्स

२००४  ग्रीस

२००८ स्पेन

२०१२  स्पेन

२०१६पोर्चुगल

२०२०  इटली

२०२४ ?

प्रतिक्रिया दिनुहोस्