राष्ट्र बैंक साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारीमा

काठमाडौं, २४ असार । राष्ट्र बैंक साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने किसिमले तयारी थालेको हो । बैंकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ ।

सरकारको बजेटका वित्तीय पक्ष कार्यान्वयन गर्नका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।

मौद्रिक नीति छलफल कै लागी अर्थ समितिको बैठक समेत चलीरहेको छ । बैठकमा मा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुनेछ।

बजारमा रहेको आर्थिक शिथिलता हटाउन बैंकरदेखि उद्योगी व्यवसायीको लर्को राष्ट्र बैंकमा लागिरहेको छ । अहिलेको मुख्य समस्या भनेको कर्जाको मागको हो । कर्जाको माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् ।

कारोबारमा शिथिलता आएकाले उद्योगीहरुले उत्पादन घटाएका छन् भने व्यवसायीहरु ऋणको किस्ता र ब्याज तिर्न नसकेर कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ । राष्ट्र बैंकलाई एकातिर कर्जा बढाएर बजार चलायमान बनाउने चुनौती छ भने अर्कोतिर त्यसले बढाउने महँगी सीमामा राख्ने दायित्व छ ।

प्रतिक्रिया दिनुहोस्