‘खुस्मा’मा धीरज र उपासना मगर जातको भेषमा

काठमाडौं, २४ असार । अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक एकसाथ काम गरेको फिल्म हो, ‘खुस्मा’ । आगामी असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्मले उनीहरुबीच अंकुराएको प्रेम र वियोगको कथा भन्नेछ । द्वन्द्वकालीन समयको परिवेशमा तयार भएको फिल्ममा उनीहरु गाउँले चरित्रमा छन् । पूर्वी रुकुम क्षेत्रमा यो फिल्म खिचिएको हो ।

फिल्ममा धीरज र उपासनाको विवाह पनि हेर्न पाइनेछ । मगर परम्पराअनुसार धीरजसँग विवाह भएको छ। जहाँ दुवै प्रेमिल भावमा देखिएका छन् । उनीहरुले मगर समुदायको परम्परागत पोषाक लगाएका छन् भने बटुकामा सगुन पिइरहेका छन् । दुवैको गलामा पातसहितको फूलको माला र निधारमा पहेँलो टीका देखिन्छ ।

फिल्मप्रति उनको उत्साह दर्शाउँछ । धीरज र उपासनाका लागि ‘खुस्मा’को सफलता अपरिहार्यजस्तै छ । धीरजको यसअघि ‘बाबरी’, ‘एक भागवत् एक गीता’ र ‘ज्याकीः आई एम ट्वान्टीवान’ गरी तीन फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए । उपासनाको भने ‘डिसेम्बर फल्स’ र ‘हात्तीछाप’ चलेनन् । यसैले उनीहरुलाई अब ‘खुस्मा’प्रति ठूलो आशा छ । एकहिसाबले यो उनीहरु दुवैको करिअरकै लागि एउटा महत्त्वपूर्ण परीक्षा हो ।

प्रतिक्रिया दिनुहोस्