‘माइली’ बाट फेरी एकपटक करिश्मा फर्किदैछिन् ठूलो पर्दामा

काठमाडौं, २३ असार । यो नाम कुनै चिनाइरहनु पर्ने नाम होइन । वषौदेखि नेपाली चलचित्र हेर्ने दर्शक वा विदेशी फिल्मका हेर्ने दर्शक भए पनि चिरपरिचित अनुहार र सफल नानम हो । कुनै समय नेपाली फिल्मका निर्विकल्पझैँ थिइन्, अभिनेत्री करिश्मा मानन्धर । उनको नामले नै फिल्म चल्ने युग थियो । तर, उमेर ढल्किएसँगै फिल्मबाट आउने प्रस्ताव फेरियो । विशेषगरी आमाको भूमिकामा प्रस्ताव आउन थालेपछि उनले लामो समय फिल्म नै गरिनन् । गत वर्ष आएको फिल्म ‘बगान’बाट उनले पाँच वर्षपछि कमब्याक गरेकी थिइन् । यसमा उनको आमाकै भूमिका थियो ।

अब भने करिश्मा निरन्तर फिल्म गर्ने योजनामा देखिएकी छन् । र, यस वर्ष फिल्म ‘माइली’मा काम गर्ने भएकी छन् । उनीसँग यसै साता निर्माण टिमले कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । करिश्माभन्दा अगाडि यो फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भैसकेकी छन् । पहिलोपटक उनीहरुलाई एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ ।

रुना इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘माइली’लाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन् । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्देशक बलामीले बताए । यसमा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसलाई स–साना छोरीहरु हुर्काउन कति कठिन हुन्छ ? नेपाली समाजले जातीयताको आडमा कसरी प्रताडित गरिरहेको छ भन्ने विषयवस्तुमा फिल्म बन्नेछ’, बलामीले भने ।

प्रतिक्रिया दिनुहोस्