ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २३ असार । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै उरुग्वेले ब्राजिललाई उपाधि होडबाट बाहिर पुर्याइदिएको हो ।

पेनाल्टीमा उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाएका थिए ।

यता ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेरे फर्किएको थियो ।

जितसँगै उरुग्वेल अब फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्