सवारीले यात्रु थेग्न नसक्दा यात्रुको बिजोग (फोटो फिचर)

काठमाडौं । यातायात व्यवसायी समितिबाट सञ्चालित सवारी साधन नचल्दा आज सर्वसाधारणले दुःख र सास्ती पाएका छन् ।
जनतालाई ठग्न पाँऊ भन्दै आन्दोलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले आज सिन्डिकेट लाद्न र समितिहरुबाट नै व्यवसाय गर्न पाँऊ भन्दै सिन्डिकेट पक्षधर व्यवसायीले सवारी साधन नै नचलाई आन्दोलन गर्दा सर्वसाधारणले दुःख र सास्ती पाएका हुन् । सरकारलाई आफ्नो निर्णय सच्याउन दबाब दिन यस्तो किसिमको आन्दोलन गरेका हुन् ।

आज शुक्रबार बिहानदेखि नै अन्नपूर्ण यातायात, साझा यातायात, सीटी मेट्रो यातायात र महानगर यातायातले सेवा दिएता पनि उपत्यकामा रहेका करिब चालिस लाख मानिसका लागि हाल संचालनमा रहेका सिमित यातायातका साधानले यात्रुको चाप थेग्न भने हम्मेहम्मे परेको छ ।

सरकारले सेवा बन्द गरेर आन्दोलमा उत्रने र सर्वसाधरणलाई सेवा नदिने यातायातलाई रुट परमिट खारेज गर्ने र कारवाही गर्ने कडा चेतावनी समेत दिएको छ ।

यातायात व्यवसायीहरुले सरकारलाई घोडा टेकाई छाड्ने र सिण्डिकेट लाद्ने दादागरि गर्दै आएको छ । यसरी सर्वसाधारणलाई प्रभाव पर्नेगरि गरेको आन्दोलनले कसैलाई पनि फाइदा हूँदैन ।

नेपाली जनताले कहिले माओवादीको १० वर्षे द्वन्द, कहिले विनाशकारी भूकम्प, कहिले नाकाबन्दी लगायत समस्याले पिरोल्दा सास्ती खेप्दै आएका छन् । यसरी आजको बन्दले सर्वसाधारणलाई फेरि पनि नाकाबन्दीको झल्को महसुस गराएको छ ।

बन्दलाई चिर्दै सर्वसाधारणहरु हिडेर र केहि चलेका सवारी साधनमा झुण्डिएर यात्रा गरेका छन् भने कतिपयले मोटरसाइकलमा समेत लिफ्ट लिएर आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।
तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् ।
सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।
साझा, मयूर, अन्नपूर्णलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रु थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।

 

तस्बिरः मनोरथ नेपाल

प्रतिक्रिया दिनुहोस्