विराज भट्टको निर्देशनमा फिल्म ‘१२ गाउँ’ को फर्स्टलुकमा समीरको अवतार, दशैंमा प्रदर्शन हुने

काठमाडौ,  १६ असार । एक्सन स्टारको रुपमा चिनिएका विराज भट्टको निर्देशनमा तयार भइरहेको फिल्म ‘१२ गाउँ’ यस वर्षको दशैंमा प्रदर्शन हुने निश्चित भएको छ । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन हुने जानकारी गराइएको हो । तर, प्रदर्शन मिति भने तोकिएको छैन । तथापि, दशैंको टीका (असोज २६) वा घटस्थापना (असोज १७) मध्ये एउटा मितिमा फिल्म रिलिज हुन सक्नेछ ।

पोस्टरमा विराजका छोरा समीर भट्ट रिसाहा भावमा देखिएका छन् । रगताम्मे खुकुरी लिएर उनले कसैमाथि प्रहार गर्न खोजिरहेका छन् । पृष्ठभूमिमा भने एउटा गाउँ देखिन्छ । फिल्ममा समीर एक्सन भूमिकामा देखिन लागेको पोस्टरले बुझाउँछ । यही फिल्मबाट उनले अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । अब समीर निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’मा काम गर्ने तयारीमा छन् ।

विराजले अबको १० दिनमा फिल्मको छायांकन सकिने जानकारी दिए । फिल्मको एउटा एक्सन दृश्य मुम्बईमा खिच्ने तयारी रहेको उनको भनाई छ । ‘१२ गाउँ’ले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उनको विश्वास छ । फिल्ममा उनी स्वयं पनि मुख्य भूमिकामा प्रस्तुत छन् । २०७६ सालमा आएको फिल्म ‘साङ्लो’पछि विराजले अभिनय र निर्देशनमा कमब्याक गरेका हुन् ।

‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईको पनि डेब्यु हुँदैछ भने मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भा ९साउथ फिल्मका कलाकार तथा स्टन्ट निर्देशक० लगायतको पनि अभिनय छ ।

यसमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यो फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । यसमा महेश पौडेल भने छायाँकारमा छन् ।

प्रतिक्रिया दिनुहोस्