सुरज ५ वर्षपछि ‘एक्लो’ फिल्ममार्फत तहल्का मच्चाउने गरी कमब्याक गर्दै

काठमाडौं, १३ असार । सञ्चारकर्मको लागि त सुरज नौलो नाम होइन, आज भोलि पनि सञ्चारकर्ममा उत्तिकै सक्रिय छन् । त्यस्तै टेलिभिजनका दशर्कका लागि पनि चिरपरिचित अनुहार हो । तर फिल्मी दर्शकका लागि चाही वर्षौ भइसक्यो हलको स्क्रिनमा अनुहार नदेखेको । लगभग लगभग दर्शकले सुरजलाई बिर्सिने अवस्थामा पुगिसक्यो । किनकी फिल्म क्षेत्रमा नयाँ नयाँ अनुहार स्थापित भैसकेका छन् । फिल्महरु पनि भेराइटिज कथाहरुमा बन्न थालेका छन् । लामो समयको ग्यापले दर्शकले सुरजलाई बिर्सिन लागेको बेला सुरजको अचानक कमव्याकको खबरले दर्शकमा खशीयाली छाएको छ ।  पछिल्लोपटक फिल्म ‘सभर लभ’ (सन् २०१९)मा लेखकको भूमिकामा अभिनय गरेका उनले प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार इन्स्टाग्राममार्फत ठकुरी स्वयंले फिल्ममा आफू आबद्ध भएको जनाए । यसमा उनी काल पात्रको भूमिकामा देखिनेछन् ।

‘सभर लभ’पछि सुरज टेलिभिजन कार्यक्रममा बढी व्यस्त रहे । लामो समय कान्तिपुर टेलिभिजनमा ‘इट्स माई शो’ चलाएका उनले ‘रोडिज’को पाँचौं सिजनलाई होस्ट समेत गरेका थिए । अब भने उनी फिल्मलाई पनि प्राथमिकता दिने योजनामा छन् । सन् २०१३ मा ‘कर्कस’बाट डेब्यु गरेका ठकुरीले त्यसयता ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

आगामी भदौपछि छायांकन सुरु गर्न लागिएको ‘एक्लो’मा सुरजसँगै सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ । फिल्मले सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । यसलाई निर्देशक शाही स्वयंले लेखेका हुन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्मको कार्यकारी निर्मातामा क्षितिज सुवेदी खत्री छन् । फिल्मका लागि यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष ‘रकेट सुट’को निर्माण भइरहेको जानकारी प्राप्त छ । फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्