त्रिशूली बस दुर्घटनामा मृत्यु भएका नेता यादवको अन्त्येष्टि

काठमाडौं । त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहामा अन्त्येष्टि गरिएको छ ।

छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडौं हिडेका नेता यादव शनिबार ना ६ ख १४६७ नंको बस त्रिशूलीमा खस्दा उनी सहित ३१ जनाको मृत्यु भएको हो ।

यादवको शव आफन्तले गए राति नै ल्याएको र आज बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि सभापति यादवले मृतक यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको छ ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं ३ (ख) बाट यादवको नाम सिफारिस भएको र त्यही सिलसिलामा काठमाडौं आउने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । स्व यादवका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्