टी–२० विश्वकप २०२४ : दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै उपाधि निकट

काठमाडौं, १३ असार । दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकप २०२४ को फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो ।

अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो ।

समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानको सेमिफाइनलमा ब्याटिङ नै चलेन । अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रूपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौँ विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

छैटौँ विकेटको रूपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५० रनको स्कोरमा सातौँ विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०।२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौँ विकेटको रूपमा पभेलियन फर्किए । ११।५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १।५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले ।फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्