अमेरिका आइसिसी टी-२० विश्वकपबाट बाहिरिए, इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं, १० असार । जारी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । सुपर-८ को ग्रुप २ बाट ३ खेलमा ४ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । सह-आयोजक संयुक्त राज्य अमेरिका आइसिसी टी-२० विश्वकपबाट बाहिरिएको छ।

गएराति भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै अमेरिका विश्वकपको सुपर आठबाट बाहिरिएको हो। यसअघि सुपर आठका दुई खेलमा पराजित भएको अमेरिका अंक विहीन हुँदै सुपर आठबाट बाहिरिएको हो।

११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान जस बटलर ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नट आउट रहे । फिलिप साल्ट २१ बलमा २ चौकासहित २५ रनमा नट आउट रहे ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका १८.५ ओभरमा ११५ रनमा अल आउट भयो । नितेश कुमारले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३० रन बनाए । कोरी एन्डरसन २९, हरमीत सिंह २१, आरोन जोन्स १०, एन्ड्रिस गौस ८ र स्टिभ टेलर १२ रन बनाए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस जोर्डनले २।५ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । उनले १९ औं ओभरको तेस्रो बलमा अली खानलाई बोल्ड, चौथो बलमा नोश्तुश केजिंगेलाई एलबीडब्लू र पाँचौं बलमा सौरभ नेत्रवालकरलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका थिए । आदिल राशिदले ४ ओभरमा १३ रन खर्चेर प्लेयर अफ द म्याच अवार्ड जिते । साम करनले २ र रिस टोप्लीले १ विकेट लिए ।

ग्रुप(२ मा इंग्ल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । वेष्टइण्डिज २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनेट १।९९२, दक्षिण अफ्रिकाको ०।६२५ र वेष्टइण्डिजको १.८१४ छ । दक्षिण अफ्रिका र वेष्टइण्डिजबीच भोली बिहान खेल हुनेछ । उक्त खेलको विजेता सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्