यूकेको हलमा ‘पूजार सार्की’

काठमाडौं, ९ असार । यस वर्षको हिट फिल्म ‘पूजार सार्की’ संयुक्त अधिराज्य (यूके)मा पनि रिलिज भएको छ । जुन २१ (असार ७ गते) बाट युकेको दुई ठूला मल्टीप्लेक्स चेन ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा फिल्म रिलिज भएको हो । यी चेनका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, फेल्दम लगायतका हलमा दैनिक रुपमा फिल्म हेर्न सकिने जनाइएको छ ।

फिल्मका निर्माता तथा संगीतकार सुवास भुसालले यूकेमा ‘पूजार सार्की’को प्रदर्शन ‘ऐतिहासिक’ रहेको बताए । उनले भने( ‘हामीले अहिले संसारभरका नेपालीहरु रहेका सहरहरुमा विभिन्न तवरबाट फिल्म प्रदर्शन गरिरहेका छौँ । यूकेमा बक्स अफिसमा रिलिज भएको छ, यो नेपाली फिल्मको लागि ऐतिहासिक क्षण हो । यसरी यूकेको बक्स अफिसमै कमै नेपाली फिल्म रिलिज भएका छन् ।’

यसअघि अमेरिकाका विभिन्न राज्यहरुमा समेत फिल्म बक्स अफिसमै रिलिज भएको थियो । जापान, कतार, दुबई, बहराइन जस्ता देशमा पनि फिल्म रिलिज भइसकेको छ । नेपालमा भने पाँचौं हप्तामा प्रदर्शनरत छ । अहिले पनि मल्टीप्लेक्सहरुमा फिल्मलाई सुखद् शोज छ । यसरी हेर्दा फिल्मले ५१औं दिन मनाउन सक्ने देखिन्छ । यो फिल्म गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो ।

दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’ले जातीय विभेदविरुद्धको कथा उठाएको छ । यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू लगायतको मुख्य भूमिका छ । पहिलोपटक आर्यन, प्रदीप र पलले एकसाथ काम गरेकाले उनीहरुको स्टारडमको फाइदा फिल्मले राम्रैसँग उठायो । उनीहरुकै कारण फिल्मले आक्रामक ‘ओपनिङ’ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्