विश्व प्रेस स्वतन्त्रता दिवसमा काठमाडौंमा प्रभातफेरी, पत्रकार भन्छन् – प्रेस स्वतन्त्रता व्यवहारमा लागू भएन

काठमाडौं ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी निकालिएको छ।

नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो।

प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताए।

नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्ने उनको भनाइ थियो। अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैँ अनुगमन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख गरेपनि कार्यान्वयन गर्न ऐन कानून बन्न नसकेको जिकिर गरे। उनले प्रेस स्वतन्त्रताको अवस्था सुधारोन्मुख भएपनि अझै पत्रकारमाथि भौतिक आक्रमणका घटना नरोकिएको बताए।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही नहुँदा दण्डहीनता बढेको धारणा राखे। उनले सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सम्मान अझै गर्न नसकेको आरोप लगाए।

यसैगरी, महासंघको काठमाडौं शाखाको प्रभातफेरी पनि भृकुटीमण्डपबाट सुरु भएर माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरमा पुगेको थियो।

कार्यक्रमको समापन गर्दै शाखा अध्यक्ष सन्तराम बिडारीले पत्रकारमाथि अहिले पनि भौतिक आक्रमण भइरहेकाले राज्यले पत्रकारलाई स्वतन्त्र भएर समाचार लेख्ने वातावरण बनाउन सरकारसँग माग गरे।

प्रभातफेरीपछि नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा’ सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। प्रभातफेरीमा महासंघको भक्तपुर शाखासहितका पत्रकारको उपस्थिति रहेको थियो।

आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्