हलमा पूजाको दाम्भी, गज्जवको स्टार क्रेज, कोही फूलमाला लगाइदिने, कोही हुटिङ गर्ने, स्टारपावर देखाउने चुनौती र अवसर

काठमाडौं , ७ असार । अभिनेत्री पूजा शर्माको करिअरका लागि महत्त्वपूर्ण मानिएको छ, ‘दान्भी’ । विशेषगरी लभस्टोरी फिल्ममा जमेकी उनी पहिलोपटक एक्सन अवतारमा देखिएकी छन् । यसैले उनलाई यो फिल्मको व्यावसायिक सफलता जति आवश्यक छ, त्यति नै एक्सनको प्रशंसा पनि जरुरी देखिन्छ । त्यो हुँदा उनलाई एक्सन फिल्म गर्न बाटो खुल्नेछ । यसले गर्दा पनि उनी यो फिल्मलाई लिएर गम्भीर छिन् ।

शुक्रबारबाट प्रदर्शनमा आइसकेको फिल्मले ‘ओपनिङ डे’मा पूजाको क्रेजको फाइदा केही हदसम्म उठाउने देखिएको छ । पहिलो दिन बिहानी शोजमा काठमाडौंका केही मल्टीप्लेक्स हलमा पूजाका फ्यानहरुको उपस्थिति राम्रो रह्यो । चाबहिलको क्यूएफक्युब हलको बिहानी शो त पूजाको फ्यान क्लबले नै ‘बुक’ गरेको थियो । जहाँ उनी स्वयं उपस्थित भएर फ्यानप्रति आभार व्यक्त गरिन् ।

उनका लागि भनेर फ्यानहरु फूलमाला र केक नै बोकेर हल पुगेका थिए । एक युवतीले पूजासहित फिल्मका अभिनेताद्वय कुन्साङ बोमजन र किरण श्रेष्ठका साथै निर्देशक रुपेश तामाङलाई फूलमाला र खादा लगाइदिँदा ‘दान्भी’ भन्दै हुटिङ समेत भएको थियो । पूजाले केक भने दुई नायकको साथमा हलबाहिर आएर काटिन् । उनीहरुसँग फोटो खिच्न फ्यानहरुबीच तछाडमछाड पनि चल्यो ।

केक काटेर सेलिब्रेसन गरेपछि मिडियासँग कुराकानी गर्दै पूजाले दर्शकबाट पाएको साथ र मायाले फिल्ममा गरेको दुःख विर्साएको बताइन् । ‘हामी जति मिहिनेत र दुःख गर्छौं, त्यो दर्शकका लागि गर्छौं । जब दर्शकबाट हुटिङ आउँछ, तब दुःखको समय विर्सिन्छौं । आजकै दिनका लागि हामीले मिहिनेत गरेका थियौं । भोलिका दिनमा पनि दर्शकको माया पाउँछु भन्ने विश्वास छ,’ उनले भनिन् ।

‘दान्भी’बाटै डेब्यु गरेका कुन्साङ भने पहिलो शोमा पाएको हुटिङ र ताली आफूले जीवनभर नर्बिसने बताउँछन् । ‘दर्शकको साथले एकदमै उत्साह जागेको छ । प्रतिक्रिया पनि राम्रो आएको छ । अब म ढुक्क भएँ,’ उनले खुसी व्यक्त गरे । किरणलाई भने दर्शक प्रतिक्रियाले छक्कै बनाएको रहेछ । ‘यति राम्रो ‘रेस्पोन्स’ आउँछ भनेर मैले सोचेकै थिइनँ । अब आनन्दले सुत्न सक्छु,’ उनले भने ।

फिल्मको शुक्रबार र शनिबारको व्यापार पूजाको काँधमा छ । किनभने, यसमा चलेको अनुहार उनी मात्र हुन् । त्यसैले दबाब पनि उनीमाथि नै बढी छ । उनको ‘स्टार’ छवि बनेकाले आफ्नो स्टारडम प्रमाणित गर्ने उनलाई यो गज्जबको अवसर हो । आइतबारबाट भने फिल्मको भविष्य ‘माउथ पब्लिसिटी’ले निर्धारण गर्नेछ । यो फिल्मले सफलता पाएको खण्डमा पूजालाई ठूलो राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्