आफैं फिल्म निर्माण गर्छु बरु, तर काम माग्दिनः पूजा शर्मा
बाठमाडौं, ५ असार । अभिनेत्री पूजा शर्माले टेकेको धरातल फिल्म ‘प्रेमगीत’ले बनाएको हो । यसले उनको करिअरको रुपरेखा नै बदल्यो । अहिले उनी ‘स्टार’ कहलिएकी छन् । युवापुस्तामा राम्रो क्रेज छ । लभस्टोरी फिल्ममा रुचाइएकी छन् । यसरी हेर्दा पूजाको करिअर सफल नै देखिन्छ । तर, उनले चरित्रमा भने विविधता पस्किन सकेकी थिइनन् । ‘प्रेमगीत’बाट जुन छवि बन्यो, उनी त्यसमै रमाउँदै आइन् ।
अब भने पूजाले चरित्रमा विविधता खोज्ने प्रयास गरेकी छन् । यसको श्रीगणेश फिल्म ‘दान्भी’बाट भएको छ । यही शुक्रबार (असार ७ गते)बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनी एक्सन भूमिकामा देखिँदैछिन् । ‘लभर गर्ल’को छवि मेट्ने उनका लागि यो राम्रो अवसर हो । तर, यसका लागि उनले एक्सनमा भने आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेछ । यो उनका लागि ठूलो चुनौती हो ।
‘दान्भी’मा पूजाले मेशिनगन समेत चलाएकी छन् । तर, उनले मेशिनगन बोकेको पोस्टर सार्वजनिक भएपछि धेरैले खिसिटिउरी गरे । मेशिनगन बोक्दाको ‘एक्सप्रेसन’ र ‘मुमेन्ट’ नै नभएको भन्दै उनको ट्रोल बनाइयो । तर, उनलाई लाग्छ, एउटा केटीले मेशिनगन बोकेकाले यसरी आलोचना भएको हो । त्यही मेशिनगन कुनै हिरोले बोकेको भए सबैबाट वाहवाही हुन्थ्यो भन्ने पूजाको बुझाई छ ।
‘मैले बोकेको मेशिनगन कुनै हिरोले बोकेको भए एकदमै तारिफ गरिन्थ्यो । तर, एउटा केटीले गरेकाले गन बोक्दाको ‘एक्सप्रेसन’ भएन भनेर आलोचना गरियो । मैले गन बोकेको छु भने त्योसँग डराउने होइन नि त । अरुलाई हानिरहेको छु भने गनसँग सहज पो हुने हो त,’ उनी भन्छिन् । उनी आफूलाई आलोचना सहने बानी परिसकेकाले अब यसको खासै मतलब नलाग्ने बताउँछिन् ।
यतिबेला पूजालाई एक्सन फिल्मको प्रस्ताव बढी आइरहेको छ । तर, उनी ‘दान्भी’को नतिजापछि मात्र निर्णय लिने सोचमा छिन् । उनले खोजेको नतिजा चाहिँ एक्सनमा गरेको प्रयासको प्रशंसा हो । भन्छिन्, ‘मैले एक्सनमा गरेको प्रयास रुचाइयोस् भन्ने खोजिरहेको हुँ । निर्माता सुरक्षित हुन् भन्ने त भइहाल्छ । तर, केटीले यतिसम्म पनि एक्सन गरेछ भनेर प्रशंसा भयो भने त्यही मेरो सफलता हो ।’
एक्सनमा उनको प्रेरणाको स्रोत भने अभिनेत्री रेखा थापा हुन् । रेखाकै एक्सनबाट आफू प्रभावित भएको पूजा बताउँछिन् । तर, ‘दान्भी’मा काम गरेपछि उनले एउटा कुरा भने राम्रैसँग बुझेकी छन्, यसमा जति दुःख अरुमा हुँदैन । तर, मज्जा पनि यसैमा छ भन्ने उनको अनुभव छ । ‘दान्भी’मा रिक्स मोलेर काम गरेको बताउने पूजा दर्शकलाई एक्सनमा फरकपन महसुस हुनेमा विश्वस्त देखिन्छिन् ।
‘प्रेमगीत’पछि पूजालाई कहिल्यै फिल्मको अभाव भएको छैन । फिल्ममा उनको राम्रो माग दखिन्छ । तर, करिअर जस्तोसुकै भए पनि मागेर काम नगर्ने उनको अडान छ । ‘मलाई फिल्म क्षेत्रमा हात समातेर हिँडाउने कोही छैन । म लडेरै हिँडिरहेको छु,’ उनी भन्छिन्, ‘अहिलेसम्म म कसैसँग फिल्म माग्न गएको छैन । बरु मलाई के हिम्मत छ भने आफैं फिल्म बनाउँछु, तर काम माग्दै हिँड्दिनँ ।’
प्रतिक्रिया दिनुहोस्