श्रीमान/श्रीमती अध्यक्ष र व्यवस्थापक बनेर ९४ करोड २३ लाख झ्वाम, फ्ल्याटबाट पक्राउ

काठमाडौं, २ असार । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् तेजविक्रम थापा । उनी २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष हुन् ।

कृषि विकास बहुउद्देश्यीयमा व्यवस्थापक थिइन्, ४४ वर्षीया सजना राजकर्णिकार । तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम र सजना श्रीमान् श्रीमती हुन् ।

उनीहरूलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरू त्यहाँ फ्ल्याट लिएर बसेको अवस्थामा फेला परेका हुन् । दुई महिनादेखि उनीहरू गोकर्णेश्वरमा लुकेर बसेका थिए ।

कृषि विकास सहकारीको रकम अपचलन गरेको आरोपमा उनीहरूसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर घर भएका ५३ वर्षीय भीमसेन महर्जन, काठमाडौँ महानगरपालिका–६ चाबहिल घर भएका ४७ वर्षीय सञ्जय सापकोटा र तेजविक्रम दम्पती छन् । महर्जन र सापकोटा सहकारीको सदस्य हुन् ।

२०५८ मा मार्केटिङमा जागिर खान सहकारीमा प्रवेश गरेकी सजना र तेजविक्रम सहितको समूहले ९४ करोड २३ लाख रुपैयाँ रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ५ सय ६६ जना बचतकर्ताले जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार सहकारी सञ्चालकबाट पीडित बचतकर्ता २ हजार ५३१ जना छन् । सहकारीमा २ अर्ब ८० करोड जम्मा निक्षेप देखिएको छ । २०५६ मा सहकारीको लेखा प्रमुख भएर प्रवेश गरेका तेजविक्रम थापा २०६० देखि निरन्तर कार्यकारी अध्यक्ष छन् ।

२०६० मा उनी लोकन्थलीस्थित समिट अस्पतालको अध्यक्ष बनेका थिए । २०७० देखी उनी अन्नपूर्ण किसान फिड र फर्टिलाइजेशन उद्योगको अध्यक्ष भएका थापा २०७१ मा कृषि टेलिभिजनको संस्थापक अध्यक्ष भएका थिए ।

२०७३ मा उनी गोरखा टेलिभिजनको पनि अध्यक्ष भए । यति हब्र्स, यति टेक्निक प्रालि नामका कम्पनी स्थापना गरेर थापा संस्थापक अध्यक्ष भएका थिए ।

पछिल्लो समय थापा आफूलाई राज ठकुरीको नाममा चिनाउँदै आएका थिए । उनको साथबाट राज ठकुरीको नामको गोरखा टिभीको परिचयपत्र बरामद गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

३ वटा बैंकिङ्ग कसुर मुद्दामा उनी फरार सूचीमा थिए । सदस्य सञ्जय सापकोटा २०७९ मा र भीमसेन महर्जन २०७१ मा सो सहकारीको सञ्चालक समितिमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्