सनी देवल २७ वर्षपछि ‘बोर्डर’को सिक्वेलमा आउँदै

काठमाडौं, ३२ जेठ । गत वर्ष आएको फिल्म ‘गदर २’ले अभिनेता सनी देओलको संकटग्रस्थ करिअरलाई ठूलै राहत दियो । यो फिल्मले भारतमा मात्र ५ सय करोड कमाएको थियो । अब सनीको अर्को पुरानो ब्लकबस्टर फिल्म ‘बोर्डर’को पनि सिक्वेल बन्ने भएको छ । बिहीबार टिजर भिडियोमार्फत फिल्मको निर्माण घोषणा गरिएको हो । टिजरमा ‘बोर्डर २’लाई ‘भारतको सबैभन्दा ठूलो वार फिल्म’ भनिएको छ ।

१३ जुन, १९९७ मा ‘बोर्डर’ प्रदर्शन भएको थियो । यसमा सनीसहित ज्याकी श्राफ, सुनील शेट्टी, अक्षय खन्ना जस्ता कलाकार थिए । यो फिल्म रिलिजको २७ वर्ष पुगेको अवसरमा सिक्वेल घोषणा गरिएको हो । ‘बोर्डर २’मा सनीकै मुख्य भूमिका रहनेछ भने बाँकी कलाकारको बारेमा जानकारी गराइएको छैन । जीपी दत्तासहितको टिमले निर्माण गर्ने फिल्मको निर्देशन अनुराग सिंहले गर्नेछन् ।

इन्स्टाग्राममा टिजर भिडियो सेअर गर्दै सनी लेख्छन्, ‘एक फौजी आफ्नो २७ वर्ष पुरानो वाचा पूरा गर्न आइरहेको छ फेरि ।’ उनले ‘बोर्डर’मा मेजर कुलदीपको भूमिका निभाएका थिए । १० करोडमा बनेको फिल्मले भारतमा मात्र ६५ करोडमाथिको कमाई गरेको थियो । ‘गदर २’ले पाएको सफलता हेर्दा ‘बोर्डर २’ले पनि भारतीय बक्सअफिसमा रेकर्ड बनाउन सक्ने सम्भावना बलियो देखिन्छ ।

‘ब्याक टू ब्याक’ फिल्म ‘फ्लप’ हुँदा सनी संकटमा थिए । तर, ‘गदर २’ले उनको करिअरलाई नै पूर्नजीवन दियो । यतिबेला उनलाई फिल्म प्रस्तावको ओइरो छ । ‘बोर्डर २’सहित अहिले उनीसँग अरु केही फिल्म पनि छन् । यतिबेला फिल्म ‘लाहोर’को छायांकनमा व्यस्त रहेका उनले यसपछि ‘रावायण’ र ‘गदर ३’मा काम गर्नेछन् । ‘रावायण’मा उनी हनुमानको भूमिकामा देखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्