गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति, लचिलो र सन्तुलित नीति ल्याउने

काठमाडौं,३२ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब १० महिना बाँकी छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति उनको अन्तिम मौद्रिक नीति हो ।

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा ताली र गाली दुबै खाए । सुरुवातमा लचिलो मौद्रिक नीति ल्याएर वाहावाही कमाएका गभर्नर अधिकारी पछि मौद्रिक नीतिमा कडाइ गर्दा धेरैको आलोचना समेत सहुनु पर्यो ।

उनले लिएका नीतिहरुकै कारण अर्थमन्त्रीहरुसँग समेत उनको सम्बन्ध राम्रो रहेन । पूर्बअर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा त उनलाई पदबाटै हटाउनेसम्मको काम भयो तर पछि अदालतले उनलाई पुनः काममा फर्कन बाटो खुल्ला गरिदियो । काँग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री हुँदा पनि गभर्नरको सम्बन्ध खासै राम्रो भएन ।

कार्यकालको सुरुवातमा कोभिड सुरु भएपछि गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन भन्दै मौद्रिक नीतिमार्फत थुपै सहुलियत दिए । बजारमा एकाएक खर्बौको तरलता थपिने गरी उनले मौद्रिक नीति ल्याए । उनले कोषको पाँचगुणासम्म पुनरकर्जा दिने निर्णय गरे भने सिआरआर अनुपातलाई समेत घटाएर ३ प्रतिशतमा झारिदिए भने सिसिडि रेशियोमा समेत सहुलियत दिए । जसले गर्दा बजारमा अधिक तरलता भयो भने बैंकहरुले निरन्तर ब्याजदर घटाउन थाले । गभर्नर अधिकारीले लिएको लचक नीतिले गर्दा कोभिड महामारीको कठिन समयमा पनि धेरैले राहत महशुस गरे ।

बजारमा अधिक तरलता छोड्दा गभर्नर अधिकारीले कुनै पनि कर्जामा कडाइ गरेनन्। बैंकहरुले पनि अन्दाधुन्दा लगानी गरे । एकै वर्ष बैंकहरुको कर्जा लगानी २७ प्रतिसम्मले बढ्न पुग्यो । ऋणीले ८ प्रतिशतमा नै कर्जा लिन पाउने अवस्था आयो भने सो समयमा धेरैले कर्जाको दुरुपयोग पनि गरे । यस समयमा धेरै कर्जाहरु शेयर बजार र घरजग्गामा पनि गए ।

शेयर बजारका लगानीकर्ताले त अझै गभर्नर अधिकारीकै नीतिका कारण शेयर बजारमा ठूलो गिरावट आएको भन्दै गभर्नर अधिकारीलाई गाली गर्ने गरेका छन्। शेयर धितो कर्जामा गरेको कडाइले गर्दा शेयर बजारका ठूला लगानीकर्ताले कर्जा चुक्ता गर्नुपर्यो भने त्यसले बजारमा आपुर्तिको बाढी ल्यायो । जसले गर्दा ३२०० नजिक पुगेको नेप्से सूचक घटेर १८०० सम्म झर्यो । अहिले पनि गभर्नर अधिकारीलाई लचक नीति ल्याउन लगानीकर्ताको पनि उत्तिकै दबाव छ ।

गभर्नर अधिकारी आफ्नो कार्यकालमा केहि कडा देखिएपनि अहिले विस्तारै लचक हुन थालेका छन्। अहिलेकै नीतिलाई निरन्तरता दिए राष्ट्र बैंकबाट आलोचित भएर बाहीरिनुपर्ने डरले पनि अधिकारीले मौद्रिक नीतिलाई लचिलो बनाउँदै छन्। कार्यकाल सकिदै गर्दा राष्ट्र बैंकबाट वाहावाही लिएरै बाहिरिन समेत गभर्नर अधिकारी अझै केहि लचक नीति लिने पक्षमा छन्। ।

अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट कडाइ गरिएका कतिपय कर्जाहरुमा अहिले केहि लचिलो व्यवस्था गरेका छन्। । शेयर कर्जामा समेत सीमा बढाएर जोखिमभार समेत घटाएका छन् भने बैंकहरुलाई शेयर बजारमा लगानी गर्न केहि सहज वातावरण बनाइदिएका छन्।

गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेत कसैको गाली नखानेगरी मुठ्ठी खुकुलो पार्ने तयारी गरेका छन्। उनले केहि दिन अघि सार्वजनिक कार्यक्रममा नै यसको संकेत गरेका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो आउने बताइसकेका छन्। ।

अहिले बाह्य क्षेत्र मजबुद भएको र महंगी पनि निकै कम रहेकोले राष्ट्र बैंकलाई लचिलो नीति लिन प्रसस्त ठाँउ छ । यसले गर्दा पनि गभर्नर अधिकारी राष्ट्र बैंकबाट बाहिरिदा ताली खाएर बाहिरिने गरी लचिलो नीति तर्जुमा गर्ने तयारीमा छन्। ।

प्रतिक्रिया दिनुहोस्