आयुष्मानको छायांकन र प्रियंकाको अभिनय रहेको ‘साहु बा’ सिरिजको ट्रेलर, टिजर र गीत सार्वजनिक

काठमाडौं, २९ जेठ । अभिनेताको रुपमा चिनिएका छन्, आयुष्मान देशराज जोशी । ‘चपली हाइट २’बाट डेब्यु गरेका उनले त्यसपछि करिब आधा दर्जन फिल्म गरे । तर, विस्तारै उनको रुचि अभिनयभन्दा छायांकनतर्फ ढल्किएको छ । लकडाउनको समयमा उनले वेब सिरिज ‘जस्ट एनदर लभस्टोरी’ खिचेका थिए । यसैक्रममा, उनले छायांकन गरेको अर्को वेब सिरिज ‘साहु बा’ अब सार्वजनिक हुने तयारीमा छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकारलाई यो सिरिजको ट्रेलर, टिजर र गीत देखाइयो । जसमध्ये टिजरलाई निर्माण कम्पनी म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ५३ सेकेण्ड लम्बाईको टिजरले सिरिजको कथावस्तुबारे प्रकाश पार्छ । सत्ता, शक्ति र बदलाको कथामा सिरिज बनेको टिजरले प्रष्ट्याउँछ । यो सिरिज क्राइम–थ्रिलर जनरामा बनेको छ ।

यस सिरिजमा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा छिन् । तर, टिजरमा उनी एक सिनमा मात्र देखिन्छिन्, जहाँ उनी साडीको सप्काले टाउको छोपेर हिँडिरहेकी छन् । उनको भूमिकालाई टिजरमा सस्पेन्स राखिएको छ । २४ वटा श्रृंखला रहेको यो सिरिजमा प्रियंकाका साथै सरिता गिरी, विजु पार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अमितेष शाह लगायतको पनि अभिनय छ ।

सुजय योङको लेखन तथा निर्देशन रहेको यो सिरिज निर्माण हुन ३ वर्ष लागेको थियो । यसमा आयुष्मान सहित संगम राई र अनिस तामाङको छायांकन छ भने रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन छ । प्रेम लामा र राजु तामाङ फिल्मका द्वन्द्व निर्देशक हुन् । सिरिजलाई ‘एपी वान एचडी’बाट प्रशारण गरिने कार्यक्रममा जानकारी गराइयो । सिरिजको रिलिज मिति भने तय भएको छैन ।

प्रियंका ‘साहुबा’ आफ्नो लागि विशेष रहेको बताउँछिन् । छोरी ६।७ महिनाको हुँदा सिरिजमा काम गरेको स्मरण गर्दै उनी भन्छिन्, ‘मैले यसमा काम गर्दा आयांका ६।७ महिनाको थिइनँ । हरेक दिन म सुटिङ ‘ब्रेक’ गरेर छोरीलाई स्तनपान गराउन जान्थेँ । त्यसले गर्दा मेरो लागि यो सिरिज विशेष छ ।’ त्यतिबेला आफू मोटी भएकाले ‘स्क्रिनप्ले’मा केही परिवर्तन गरिएको पनि उनले सम्झिइन् ।

सिरिजमा आफूलाई तौल बढेकोदेखि घटेको अवस्थासम्म देख्न सकिने उनको भनाई छ । ‘यो तीन वर्ष लगाएर खिचिएको सिरिज हो । यसमा झण्डै ५ सय सिन छ । फिल्म वा सिरिजको सुटिङ क्रमशः हुँदैन । अगाडि–पछाडि गरेर सिन खिचिन्छ,’ उनी भन्छिन्, ‘यो सिरिज हेर्दा कुनै सिनमा म ८८ केजी हुन्छु भने कुनैमा ६० केजीको देखिन्छु । यसमा मेरो तौलमा ठूलो परिवर्तन आएको देखिन्छ ।’

आयुष्मान भने छायांकनप्रति आफ्नो पहिलेदेखिकै रुचि रहेको बताउँछन् । ‘छायांकन मेरो रुचि हो । मैले फोटोग्राफीबाट सुरु गरेँ र सिनेमेटोग्राफी सिकेँ । त्यसलाई मैले आफ्नै श्रीमतीसँग सिरिजमा अभ्यास गर्न पाएँ,’ उनी भन्छन्, ‘यो सिरिजबाट छायांकनमा नयाँ अनुभव लिन पाएँ । सिरिज राम्रो खिचेको छु भन्ने विश्वास छ ।’ सिरिज राम्रो बनेको र दर्शकलाई मनपर्नेमा आयुष्मान विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्