‘लण्डन टू पेरिस’ बाट निश्चलले देखाए बलियो सम्भावना, एउटा चकलेटी हिरोको आगमन

काठमाडौं, २८ जेष्ठ । वर्षेनि ५० हाराहारी फिल्म रिलिज हुन्छन् । त्यसमध्ये केही फिल्मबाट नयाँ अनुहार भित्रन्छन् । तर, धेरैको करिअर डेब्यु फिल्मबाटै उठ्न सक्दैन । कोही फिल्म असफलताको मारमा पर्छन् त कोही अभिनयमा आफ्नो प्रभाव छाड्न नसक्दा लाखापाखा लाग्छन् । जसले गर्दा फिल्म क्षेत्रमा नयाँ अनुहारले आफ्नो पकड बनाउन सकेका छैनन् । चल्तापूर्जा कलाकारहरुकै हालिमुहाली देखिन्छ ।

यसैबीच, यही शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘लण्डन टू पेरिस’बाट फिल्म क्षेत्रले अर्को नयाँ अनुहार पाएको छ । उनी हुन्, निश्चल खड्का । फिल्मले बक्स अफिसमा सशक्त प्रदर्शन गर्न नसकेको भए पनि निश्चलले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । लण्डन बस्ने युवकको भूमिका निर्वाह गरेका उनले पहिलो फिल्ममै केही हदसम्म सम्झनलायक काम गरेका छन् ।

विशेषगरी निश्चलको ‘डाइलग डेलिभरी’ तारिफयोग्य छ । लामो संवाद पनि उनले सहज रुपमै उच्चारण गरेका छन् । क्लाइमेक्समा साम्राज्ञी आरएल शाहलाई सिंगार्दै उनले बोलेका संवाद फिल्मको सशक्त पक्ष हो । उनलाई आवाजले पनि राम्रो साथ दिएको छ । कतिपय दृश्यमा उनको ‘बोल्ड भ्वाइस’ प्रभावशाली लाग्छ । तथापि, स्क्रिप्टको कमजोरी यदाकदा उनको अभिनयमा पनि देखिन्छ ।

यतिबेला लभस्टोरी फिल्ममा चकलेटी हिरोको अभाव छ । त्यसमा पनि सशक्त अभिनय गर्न सक्ने हिरोहरु ज्यादै थोरै छन् । यसैले निश्चल मेकरहरुको रोजाईमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । उनको लुक्स लभस्टोरी फिल्मका लागि ‘परफेक्ट’ देखिन्छ । र, अभिनय पनि स्वभाविक भएकाले निश्चलले नेपाली फिल्ममा देखिएको रोमान्टिक हिरोको अभावलाई परिपूर्ति गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्