महानायकले ६०औं जन्मदिन बूढानीलकण्ठ मन्दिरमा पूजापाठ गरेर बिताए

काठमाडौं २७ जेष्ठ । नेपाली फिल्मका सर्वाधिक लोकप्रिय, सफल अनि सबैले मनपराउने एकमात्र अभिनेता राजेश हमाल ६०औं वसन्तमा टेकेका छन् । २०२१ साल जेठ २७ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार बिहान पत्नी मधु भट्टराईको साथमा बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ गरेका छन् ।

नेपाली फिल्ममा गर्विलो छवि बनाएका हमालले आफ्नो करिअरमा ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । झण्डै तीन दशक नेपाली फिल्मलाई काँध हालेर स्टारडमको मानक खडा गरेका थिए, हमालको त्यसबेला कुन हदसम्म जगजगी थियो भने पोस्टरमा उनको अनुहार राखेकै भरमा मात्रै पनि फिल्म चल्थे । धेरै नेपाली निर्माताले उनलाई फिल्म खेलाएरै घर बनाए, गाडी किने, बैक व्यालेन्स थुपारे।निर्माताको लोभलाग्दो आर्थिक हैसियत बनाएर आफु निर्माताहरुको दुध दिने गाई बने । अझै स्पष्ट भन्नुपर्दा नेपालमा स्टारडमको शुरुवात नै हमालले गरेका हुन भन्नेमा कसैको पनि दुईमत छैन ।

जुन समयमा हमालले नेपाली फिल्ममा प्रवेश गर्ने निर्णय गरेका थिए, त्यसबेला वर्षमा एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्म क्षेत्रमा करिअर खोज्नु भनेको मुर्खता मानिथ्यो । यो क्षेत्रमा कसैले भविष्य नै देखेका थिएनन् । त्यही अन्योलताका बीच फिल्म क्षेत्रमा प्रवेशमा गरेका उनी तीन दशकमा नेपाली फिल्मका सर्वाधिक लोकप्रिय अभिनेता मात्र बनेनन्, ‘हिरो’को पर्याय नै बन्न सफल भए ।

हमालको करिअरको सुरुवात भने मोडलिङबाट भएको थियो । दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा उनले त्यहाँ आयोजना भएको एक फेसन शोमा भाग लिएका थिए । त्यसपछि नेपालका केही फेसन शोमा सहभागी भए । उनी आबद्ध भएको पहिलो फिल्म भने ‘भाग्यरेखा’ थियो । तर, पछि उनी यो फिल्मबाट बाहिरिनु पर्‍यो । र, २०४६ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट उनले डेब्यु गरे ।

‘देउता’, ‘शंकर’, ‘सडक’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘भिष्म प्रतीज्ञा’, ‘अल्लारे’ जस्ता फिल्मबाट ‘स्टारडम’को उचाइँ बढाएका उनलाई करिअरको उत्कर्षमा रहँदा फिल्मको संख्यात्मक वृद्धिमा मात्र जोड दिएको टिप्पणी अझै पनि हुने गर्छ । किनकि, उनले अभिनय गरेका फिल्ममध्ये सम्झनलायक थोरै मात्र छन् । त्यसमध्येमा ‘बसन्ती’ र ‘देउता’ पर्दछन् । तर, उनका धेरै फिल्म सफल भने छन् ।

५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह नगर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले हैरान बनेका हमाल विगत केही वर्षयता भने पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् । तर, बच्चाको प्रश्नमा उनी एउटै कुरा दोहोर्‍याइरहन्छन्, ‘हाम्रो योजना नभएरै सन्तान नभएको हो ।’

अभिनेता हमाललाई भारतीय मिडियाहरुले बलिउड सुपरस्टार अमिताभ बच्चनसँग समेत दाँजेर समाचार बनाइरहेका हुन्छन् । सन् २०१९ मा आजतक मिडियाले हमालको चर्चा गर्दै लेखेको थियो, ‘राजेश हमाल नेपालका एक यस्ता सुपरस्टार हुन्, जसलाई त्यहाँ ‘महानायक’को उपाधि दिइएको छ । राजेशको ‘चार्म’ नेपालमा यस्तो छ, जुन भारतमा अमिताभ बच्चनजस्ता कलाकारहरुको छ ।’

वौद्धिक छवीले गर्दा पनि राजेशलाई सफल बनाउन वरदान सावित भयो । सालिन, भद्र र शान्त स्वभावका उनी अरुको खट्टा तान्ने र कुरा काट्ने, प्रगतिमा रिस डाहा गर्ने, ईष्या गर्ने र घमण्ड गर्ने मामलामा सधै पछाडि भइरहे । सधै इमान्दारपूर्वक आफ्ना काममा अगाडि बढिरहे ।

एउटा सफल हिरोमा हुनुपर्न सम्पूर्ण गुणले भरिपूर्ण थिए, जसले गर्दा हमाललाई सुपरस्टारदेखि महानायकको यात्रामा अगाडि बढायो । जो बच्चादेखि बुढासम्म सबैको प्रिय बने, जो ३ पुस्तासम्म पनि उत्तिकै लोकप्रिय भइरहे र ३ पुस्ताले नै चिन्ने र मर्नेपर्ने नायक भए । जसले गर्दा सधै दर्शकको मनमष्तिकमा एउटा फिल्म स्टार मात्र नभएर राजेशलाई आफन्तकै रुपमा मनमा सजाए ।

त्यसैले त आज फिल्म नखेलेको ६÷७ वर्ष भएता पनि लोकप्रियता र व्यस्ततामा कुनै कमी आएको छैन । उनको छवि झनै सगरमाथा झै अटल छ । देशदेखि विदेशसम्मका उनका दर्शकले मन, मुटु र धड्कनमा सजाएका छन् । बाल्यकालमा राजेशको फिल्म हेरेर हुर्केका दर्शकले त यसरी मनमा सजाए कि चुम्बक र फलाम झै भए राजेश र दर्शक ।

त्यस्तै आजका युवापुस्ता माझ पनि उत्तिकै लोकप्रिय छन् । उनको व्यक्तित्व पनि गजबकै छ, जसले राजेशको वर्णन नगरी रहनै सक्दैन । यी विविध गुणले गर्दा राजेशलाई धेरै लामो यात्रा गर्न सहज पनि बनायो ।

कुनै समय वर्षमै १२।१५ वटासम्म फिल्ममा काम गरेका हमाल विगत ६।७ वर्षदेखि भने फिल्ममा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले केही फिल्म सम्झौता गरे पनि निर्माण हुन सकेनन् । यद्यपि, फिल्ममा काम नगरे पनि उनको व्यस्तता घटेको छैन । कहिले म्यूजिक भिडियो त कहिले देशरविदेशका कार्यक्रममा हमाललाई भ्याइनभ्याइ हुने गर्छ ।  महानायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना । सधै जवान र २५ वर्षे भइरहनु ।

प्रतिक्रिया दिनुहोस्