नायिका आँचल अनुबन्धित भएसँगै ‘जेरी अनटप’ असार ६ गतेदेखि छायांकनमा निस्कने
काठमाडौ, २५ जेठ । रोमान्टिक फिल्म ‘जेरी अनटप’मा मुख्य कलाकारको लाइनअपले पूर्णता पाएको छ । फिल्मको शीर्षमध्येको भूमिकामा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको छ ।
यसअघि यो फिल्ममा अनमोल केसी र आना शर्मा तय भइसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ ।
निर्माता सरोज न्यौपानेले शीर्षमध्येको भूमिकामा आँचल जोडिएको बताए । असार ६ गतेदेखि छायांकन सुरु हुने फिल्मको निर्देशकमा ‘फर्की फर्की’ फेम्ड सुयोग गुरुङ छन् । काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन हुँदैछ ।
क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् । फिल्मको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्