दयाहाङको करिअरकै सबैभन्दा उत्कृष्ट ‘गाउँ आएको बाटो’ फिल्म प्रिमियर

काठमाडौं, २४ जेष्ठ । फिल्म ‘गाउँ आएको बाटो’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । यो फिल्मलाई लिएर दर्शकको एउटा तप्का अधैर्य देखिन्छ । यसको पछाडि सबैभन्दा ठूलो कारण निर्देशक नवीन सुब्बा हुन् । ‘नुमाफुङ’ जस्तो जीवन्त फिल्म दिएका उनको यो कमब्याक फिल्म हो । त्यसमाथि संसारका धेरै प्रतिष्ठित फेस्टिभल डुलिसकेकाले फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता र चासो धेरैमा देखिएको छ ।

प्रदर्शनको संघारमा फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरलाई विशेष बनाउन बिग मुभिजलाई विवाहको मण्डपझैँ सिंगारिएको थियो । हलको एउटा कुनामा किराँत समुदायको साकेला नाच राखिएको थियो भने फिल्मका अधिकांश कलाकारहरु किराँती संस्कृति झल्किने परम्परागत पहिरन तथा आभूषणमा उपस्थित भएका थिए ।

स्थापित फिल्मकर्मीदेखि राजनीतिज्ञसम्मको राम्रो उपस्थिति देखिएको प्रिमियरमा फिल्मले प्रतिक्रिया पनि अब्बल प्राप्त गर्‍यो । पूर्व पर्यटनमन्त्री सुदन किराँतीले फिल्मले आफ्नै जीवन महसुस गराएको अनुभव सुनाए । ‘म गाउँमै हुर्के(बढेको मान्छे हुँ । त्यसले गर्दा मलाई आफ्नै जीवन हेरेजस्तो लागिरह्यो । यसले बहुआयामिक सन्देश लिएर आएको छ । म पटक–पटक भावुक भएँ,’ उनले भने ।

निर्देशक निश्चल बस्नेत भने नवीन सुब्बाको फिल्म हेर्न पाएकोमा नै खुसी देखिए । ‘मैले नवीन दाईको फिल्मबाट काम गर्न सिकेको हुँ । नवीन दाईको फिल्म हेर्न पाउनु नै मेरो लागि ठूलो खुसीको कुरा हो,’ उनी भन्छन्, ‘सायद भोलिका दिनमा यो फिल्मको बारेमा पढाइन्छ होला । हेर्दाखेरि बाबु–छोराको सामान्य कथा छ । तर, विम्वहरुको प्रयोग भरपूर मात्रामा छ । फिल्म हेर्दा आनन्द आयो ।’

अभिनेत्री स्वस्तिमा खड्काले पनि फिल्म हेर्दा मज्जा आएको र मन भारी भएको प्रतिक्रिया दिइन् । ‘फिल्म हेर्दा मज्जा आयो र मन भारी पनि भयो । ‘सिनेम्याटिक एक्सपेरियन्स’ भयो । विकासपछिको असरको कथा भनिएको छ । हामीले अक्सर विकास खोज्छौं । तर, त्यसले एउटा वर्गलाई कस्तो असर गर्छ भन्ने कुरा मज्जाले देखाइएको छ । फिल्मको कथाले सोच्न बाध्य पार्छ,’ उनले भनिन् ।

अभिनेत्री केकी अधिकारीले भने ‘गाउँ आएको बाटो’लाई दयाहाङ राईको करिअरकै उत्कृष्ट फिल्मको संज्ञा दिइन् । ‘यो परिवारले हेर्नुपर्ने फिल्म हो । विशेषगरी सन्तानले आफ्नो परिवारका लागि ‘ट्रिब्यूट’ दिने खालको फिल्म छ,’ उनी भन्छिन्, ‘कथावाचन सुन्दर छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ । दया दाई त्यो चरित्रमा जीवन्त बाँच्नुभएको छ । यो दाईको करिअरको उत्कृष्ट फिल्म हो ।’

दयाहाङसँग ‘डिग्री माइला’मा एकसाथ काम गरेकी अभिनेत्री आँचल शर्माले फिल्म हेर्दा आनन्द महसुस भएको अनुभव सुनाइन् । विशेषगरी दयाहाङ रोएको सिनले उनलाई छोएको रहेछ । त्यस्तै, अर्की अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको कथा र कलाकारहरुको अभिनयले मन छोएको धारणा राखेकी थिइन् । अभिनेता नाजीर हुसेनले पनि फिल्म निकै सशक्त बनेको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री मिरुना मगरलाई भने फिल्म हेर्दा विकासको नाममा कसरी पुर्ख्यौली पेशाहरु लोप भइरहेको छ भनेर बोध भएको रहेछ । ‘हाम्रो परम्परागत सिपहरु जुन छ, त्यसलाई विकासको नाममा विर्सिरहेका रहेछौं भन्ने फिल्मले बोध गरायो । अनि मैले परिवारलाई मिस गरेँ । सन्तानको माया कति हुन्छ भन्ने पनि यसले देखाउँछ । राम्रो फिल्म हेर्न पाएको खुसी मलाई सधैं रहनेछ,’ उनी सुनिइन् ।

प्रिमियरमा फिल्मले उम्दा प्रतिक्रिया प्राप्त गर्दा दयाहाङ हर्षित भावमा देखिए । फिल्ममा आफूहरुले दिलोज्यान दिएर काम गरेको उनको भनाई थियो । फिल्ममा उनको श्रीमतीको भूमिकामा अभिनेत्री पशुपति राई छिन् भने छोराको भूमिकामा बाल कलाकार प्रसान राई छन् । प्रिमियरमा उपस्थित हरेकले प्रसानको अभिनयको प्रशंसा गरेका थिए । उनी फिल्मका मेरुदण्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्