अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि दिएन भिसा
काठमाडौं,१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिएन ।
आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ ।
भिसा प्रक्रियाका लागि लामिछाने बिहीबार दूतावास पुगेका थिए । बिहीबार पुनस् अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए ।
अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
यसरी सामाजिक सञ्जालमा प्रश्न उठेपछि अमेरिकी दूतावासले भिसाबारे कुनै टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएको थियो ।
उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो।
त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए। हाल नेपाली टोली विश्वकपको तयारीका अमेरिकामा छ ।
नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेलेपछि विश्वकपको औपचारिक खेल खेल्नेछ ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । क्यानडासँग अभ्यास खेल खेलिसकेको छ भने अमेरिकासँग बिहीबार साँझ खेल्दैछ ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्