पुजार सार्की र फर्की फर्कीको सुखद ओपनिङ

काठमाडौँ, ११ जेष्ठ। बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका फिल्म फर्की फर्की र पुजार सार्कीले सुखद् सुरूआत गरेका छन्।

प्रदर्शनको पहिलो दिन बिहानैदेखि हलमा दर्शकको उपस्थिति उत्साहजनक रह्यो। दुवै फिल्मका दिउँसोका धेरै शो हाउसफुल रहे भने बेलुकीको शोको बुकिङ शत प्रतिशतसम्म देखियो।

फिल्मका कलाकारहरू बिहानैदेखि काठमाडौंका हल–हलमा पुगेर दर्शकसँग खुशी साट्दै धन्यवाद दिएका थिए।

हल भिजिटका क्रममा फर्की फर्कीका वितरक गोविन्द शाहीले काठमाडौंमा मात्र नभएर मोफसलका हलमा समेत दर्शकको उपस्थिति उत्साहजनक रहेको बताए। उनले भने–बिहानैदेखिका शो हाउसफुल छन्। यसअघि बिहीबार रिलिज कमै मात्र फिल्म चलेको उदाहरण छ। यो फिल्मले बिहीबार नै यसरी हलमा दर्शक तान्नु शुभ संकेत हो।

पुजार सार्कीका वितरक रोहित कट्टेलले देशभरका हलमा फिल्मले सोचेको भन्दा राम्रो दर्शक पाइरहेको बताए। जुन किसिमको शो र त्यसमा दर्शकको चाप छ, फिल्मले धेरै राम्रो गर्ने देखिएको छ, उनले भने।

अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिका रहेको फर्की फर्कीलाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्।

रोहित अधिकारी र ओमप्रकाश अग्रवाल फिल्मको निर्माता हुन्। टाइम लुपको फरक कथामा बनेको फिल्ममा लभस्टोरीसँगै एक्सनलाई समेत समावेश गरिएको छ।

आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू अभिनीत पुजार सार्कीलाई दिनेश राउतले निर्देशन गरेका हुन्।

विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता सुवास भुसाल हुन्।

फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ।

प्रतिक्रिया दिनुहोस्