भारतीय खर्बपति व्यापारी गौतम अदानीले बढाए एकै दिन २६ खर्ब ४० अर्ब भारु.

काठमाडौं,९ जेठ । भारतीय खर्बपति व्यापारी गौतम अदानीको एकै दिनमा २६ खर्ब ४० अर्ब भारु सम्पत्ती बढेको छ ।

मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको थियो तैपनि अदानीको व्यापारिक समूह अदानी समूहका कम्पनीहरुको शेयर मूल्यमा तीव्र वृद्धि देखिएको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका छन् ।

मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउनमा थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।

अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गका अनुसार अहिले उनी अर्बपतिको ‘रियलटाइम’ सूचिमा १४ औं स्थानमा छन् । विभिन्न कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएपछि भने उनको नेटवर्थ १ खर्ब ४ अर्ब डलर पुगेको छ । मंगलबार शेयर बजारमा सूचीकृत अदानी ग्रूपका १९ मध्ये नौ वटा कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको थियो ।

अदानी समूह भारतमा सबैभन्दा ठूला कम्पनीहरू मध्ये एक हो । यसले वस्तु व्यापार, विमानस्थल, नवीकरणीय ऊर्जा लगायत व्यापक क्षेत्रमा लगानी गरेको छ । अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो ।

समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो । पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको छ । यसपछि कम्पनीको बजार पूँजीकरणसँगै उनको सम्पत्ति पनि बढिरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्